दोषीलाई कारबाहीको प्रतिबद्धतापछि पोखरा–बाग्लुङ राजमार्ग खुल्यो

file photo
file photo

सवारी दुर्घटनामा एकाघरका दुई जनाको मृत्यु भएपछि आक्रोशित पीडितका परिवारले आज बन्द गराएको पोखरा–बाग्लुङ राजमार्ग सञ्चालनमा आएको छ। 

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा आइतबार बिहान कारको ठक्करबाट मोटरसाइकल चालक कुश्मा नगरपालिका–४ का ४५ वर्षीय जितबहादुर पुनको आज उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा र उनका छोरी १८ वर्षीया सविनाको अस्पताल ल्याउँदै गर्दा हिजो मृत्यु भएपछि मृतकका आफन्तले दोषीलाई कारवाही हुनुपर्ने मागसहित राजमार्ग बन्द गराएका थिए।

पीडितले राजमार्गको याम्दीपुलमा सडकमा बसेर सवारी आवागमन अवरुद्ध गरेर बाटो बन्द गरेकामा अहिले सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। 

उनका अनुसार प्रहरीले घटनामा सङ्लग्नलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउने र घटनाको अनुसन्धानको प्रतिबद्धतापछि राजमार्गको अवरोध हटाउन पीडित पक्ष सहमत बनेका हुन्।

मृतकका परिवार तथा आफन्तहरुले दुर्घटनामा सङ्लग्न कार चालकलाई  अविलम्ब पक्राउ गरी कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन्। दुर्घटना गराउने कारका चालक हालसम्म फरार रहेको बताइन्छ। 

यसअघि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीअगाडि पनि विरोध प्रदर्शन गरेका थिए। 

पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरातर्फ आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 
 

प्रकाशित मिति: : 2022-05-02 20:17:00

प्रतिकृया दिनुहोस्