‘माटो सुहाउँदो योजना र काम गरेर देखाउन सक्ने भएकाले जित्ने सम्भावना छ’

जुम्लाको सिंजा गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट पूर्णप्रसाद धिताल अध्यक्षको उम्मेदवार बनेका छन्।

लामो समय शिक्षण पेशामा लागेका उनले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। समाजको मसिनो अध्ययन गरेका उनी जुम्लामा बौद्दिक र सालिन व्यक्तित्वको रुपमा चिनिन्छन्।

यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका उनी यसपालि उत्साहित भएर लागेका छन्। यही बीचमा उनले जनतासँग लिखित प्रतिबद्धता सार्वजनिक गरेका छन्।

उनको टिमले जितेको खण्डमा सिंजा सभ्यतालाई संरक्षण गर्नुका साथै विश्व सम्पदा सूचीमा लिखित दस्ताबेज प्रस्तुत गरिने बताएका छन्।

‘सिंजा सभ्यताको पहिचान दिलाउन सूक्ष्म अध्ययनका गरी त्यसभित्रका हरेक क्रियाकलापको संरक्षण गरिनेछ,’ उनले भने, ‘सिंजा आफैँमा एक शक्तिशाली राज्य हो। तर पछिल्लो समयमा केन्द्रीकृत सत्ताका कारण सधैं ओझेलमा परिरह्यो।’

केन्द्रीकृत सत्ताले अस्तित्व मेटाउने गरी ध्वस्त पारेको सिंजालाई स्थानीय सरकारले पहिचान दिने खालका नीति कार्यक्रम तर्जुमा गर्ने उनले बताए।

सिंजामा माओवादीले प्रत्येक वडा कार्यालयका केन्द्रहरुमा नयाँ सहरको स्थापना गर्ने घोषणा गरेको छ।

माओवादीको अध्ययनमा उपभोक्ता समितिले मनपरी गर्दा भष्ट्राचार मौलाएको ठहर छ। त्यसको विकल्पमा श्रम संगठनमार्फत काम गरिने जनाएको छ।

‘श्रमिकका खातामा पारिश्रमिक पठाउने व्यवस्था गर्ने, युवालाई रोजगारीमा प्राथामिकता दिने महत्त्वपूर्ण योजना तत्कालै कार्यान्वयन गरिनेछ,’ अध्यक्षका उम्मेदवार धितालले भने, ‘नतिजाको आधारमा शिक्षक प्रोत्साहन तथा पुरस्कृत कार्यक्रम ल्याउनेछौं भने भ्रमणको व्यवस्थासमेत गरिनेछ।’

सिंजामा माओवादीले सबै विद्यालयमा इन्टरनेट जडान, पक्की तथा बालमैत्री विद्यालय भवन निर्माणदेखि आधारभूत व्यवस्थापनमा जोड दिने प्रतिबद्धता जनाएको छ।

सिंजाका अति विपन्न नागरिकका लागि आवासको व्यवस्था गर्ने, सिंजा गाउँपालिकालाई सूचनामैत्री गाउँपालिकाको रुपमा विकास गर्ने समेत उल्लेख गरिएको छ।

कृषिमा ‘एक गाउँ एक कृषि’ उत्पादन र सहकारी उत्पादन तथा रैथाने कृषि वस्तुको बजारीकरणमा जोड दिने घोषणापत्रमा समेटिएको धितालले जानकारी दिए।

त्यस्तै हरेक घरको एक जनालाई रोजगारमा जोड्ने नीति अवलम्बन गर्ने माओवादीले जनाएको छ। सिंजा गाउँपालिकाको निर्माणाधीन भवनको निर्माण कार्य सकाउने, नाग्म–गमगढी राजमार्गदेखि पालिका केन्द्रसम्मको सडक कालोपत्रे गर्ने विकास निर्माणका योजना माओवादीको प्राथमिकतामा परेका छन्।

सिंजाका लेखबस्ती इतिहासदेखि भेडा पाल्ने क्षेत्रको रुपमा परिचित छन्। माओवादीले भेडापालन व्यवसायलाई प्रबर्द्धन गरी उन र राडीपाखी उत्पादनमा जोड दिने योजना सार्वजनिक गरेको छ।

जल, जमिन र जडिबुटीबाट प्राप्त लाभलाई राजस्वको दायरामा ल्याइने बताउँदै धितालले भने, ‘यसपालि जनताले मलाई जिताएको खण्डमा कुनै दिन पछुताउनुपर्ने छैन।’

प्रकाशित मिति: : 2022-05-02 16:51:00

प्रतिकृया दिनुहोस्