श्रमिक दिवसबारे भक्तबहादुर भन्छन्– के हो श्रमिक दिवस? (भिडियाेसहित)

Breaknlinks
Breaknlinks

आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस। विश्वभरका श्रमिकले आजको दिनलाई विशेष पर्वको रूपमा लिने गरेका छन्। श्रमिकको हकहितलगायतका अन्य अधिकारको संरक्षण गर्न विभिन्न संगठनले विभिन्न कार्यक्रम गरी यस दिवस मनाउने गरेका छन्।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागो सहरमा ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा मे १ का दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएकाे छ।

सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर श्रमिक दिवस मनाउने गरिन्छ।

नेपालमा पनि आज सरकारी तथा गैरसरकारी संस्थाहरूले श्रमिकका नाममा विभिन्न कार्यक्रम सञ्चालन गरी श्रमिक दिवस मनाएका छन्।

विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो। तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक बिदा दिन थालेको थियो।

श्रमिकको नाममा सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले विभिन्न कार्यक्रमसमेत ल्याउँछन् तर वास्तविक श्रमिक यसबारे बेखबर हुन्छन्।

विगत २७ बर्षदेखि मिस्त्रीकाे काम गर्दै भक्तबहादुर श्रेष्ठ आफूलाई श्रमिक दिवसको बारेमा आफूलाई थाहा नभएको बताउँछन्।

उनलाई यसबारे कुनै मतलब छैन। जे–भएपनि काम नगरी खान नपाइने बताउँछन्, उनी। उनी भन्छन्, ‘काम नगरी कसैले खान देला भन्ने छैन। के दिवस हो, के गर्ने  हो, यसबारे हामीलाई केही थाहा छैन। दिनभर काम गरेर बेलुका खाने हामीहरुलाई जुन दिवस आएपनि उस्तै हुन्छ।’

भक्तबहादुर जस्तै अन्य धेरै मजदुरहरू छन् ,जसलाई श्रमिक दिवस के हो भन्नेबारे थाहा छैन। उनीहरूलाई विभिन्न संघसंस्थाहरूले आफूहरुका लागि के गरिरहेको छ भन्नेबारेमा थाहा छैन।

प्रकाशित मिति: : 2022-05-01 19:00:00

प्रतिकृया दिनुहोस्