नेपाल जाँदा अब खल्तीमा २०० डलर 'क्यास' नबोके पनि हुने भएको छ। त्रिभुवन विमानस्थलको एटीएम बिग्रिरहने र भीडभाड हुने भएकाले यात्रुलाई नगदै लिएर आउन त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जारी गरेको निर्देशन खारेज गरिएको छ।
अध्यागमन प्रशासन र विमानस्थल सुरक्षा एवं आन्तरिक व्यवस्थापनमा मुलुककै छविमा असर पर्ने गरी विमानस्थल अध्यागमन प्रशासनले भिसा शूल्क भुक्तानी गर्न नगद कारोबारलाई बढावा दिने र बाहिरी सुरक्षा व्यवस्था चुस्त बनाउन ध्यान नदिएको विषयले सरकार आलोचित बनेको थियो । यसप्रति चासो राख्दै गृहमन्त्री बालकृष्ण खाँणले सोमबार दिउँसो अध्यागमन विभाग, विमानस्थल अध्यागमन कार्यालय र विमानस्थल प्रशासनका उच्च अधिकारीलाई मन्त्रालयमै बोलाएर समस्या समाधानका लागि निर्देशन दिएका थिए ।
यो निर्देशन राष्ट्रिय लज्जाको विषय भएको भन्दै नेपाली मिडियामा बाक्लै समाचार आएपछि चौतर्फी बिरोध भयो। यसले सरकार र सम्बन्धित सबै निकायको ध्यान आकृष्ट भयो। गृहमन्त्री बालकृष्ण खाँणले सोमबार दिउँसो अध्यागमन विभाग, विमानस्थल अध्यागमन कार्यालय र विमानस्थल प्रशासनका उच्च अधिकारीलाई मन्त्रालयमै बोलाएर समस्या समाधानका लागि निर्देशन दिए। निर्देशन पाएलगत्तै सम्बन्धित सबैले समन्वय गरेर त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा राष्ट्रिय वाणिज्य बैंकका अरू दुइवटा एटीएम थपेर एटीएम संख्या ६ पुर्याइएको छ भने भिसा कार्ड र मास्टर्ड कार्ड रिड गर्ने २ वटा पोस मेसिन पनि थप गरिने भएको छ।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले विमानस्थलमा कुनै समस्या आए समाधानका लागि अध्यागमन विभाग, विमानस्थल अध्यागमन कार्यालय र विमानस्थल प्रशासनबीच समन्वय र नियमित अनुगमन गर्ने निर्णय भएको बताए।
मिडियाले महत्वका साथ समाचार सम्प्रेषण गरेपछि सुनुवाई हुने रहेछ भन्ने यो एक ज्वलन्त उदाहरण हो यो। यसबाट लेखेर के हुनछ र ? भन्नेहरूलाई पनि गतिलो जवाफ मिलेको छ।