खोटाङ : ६ पालिकामा कांग्रेससहितको गठबन्धन, चारमा कांग्रेस एक्लै लड्ने 

आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङका सत्तारुढ चार दलले गठबन्धन गर्ने निर्णय गरेका छन्।

जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा कांग्रेस सहितको र चार स्थानीय तहमा कांग्रेस बिनाको गठबन्धन गर्ने निर्णय भएको हो। 

गत १६ चैत यता निरन्तर बसेको सत्तारुढ दल कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको बैठकले आइतबार राती पालिका प्रमुख र उपप्रमुखको भागबन्डा टुंग्याएको हो। ४ स्थानीय तहमा भने कांग्रेस एकल चुनाव लड्ने सहमति भएको पूर्वसांसद एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कुलप्रसाद फुयाँलले बताए। 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र, बराहपोखरी गाउँपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा नेकपा एकीकृत समाजवादी, रावाबेँसी गाउँपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको छ। यस्तै, ऐसेलुखर्क गाउँपालिका प्रमुख माओवादी केन्द्र र उपप्रमुख कांग्रेस, खोटेहाङ गाउँपालिका प्रमुख माओवादी केन्द्र, उपप्रमुख कांग्रेस, जन्तेढुंगा गाउँपालिका प्रमुख माओवादी केन्द्र र उपप्रमुख कांग्रेसको भागमा परेको छ। 

तर हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र साकेला गाउँपालिकामा भने कांग्रेसले एकल उम्मेदवारी दिने सहमति भएको छ। कांग्रेस सिंगल लड्ने भए पनि त्यी चार स्थानीय तहमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीचमा चुनावी तालमेल हुने भएको छ। 

केपीलासगढी गाउँपालिकामा प्रमुख नेकपा एकीकृत समाजवादी र उपप्रमुख जनता समाजवादीको भागमा तथा साकेला गाउँपालिकामा प्रमुख माओवादी केन्द्र र उपप्रमुख जनता समाजवादीको भागमा परेको छ। यस्तै, हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश १ का खानेपानी, सिँचाई तथा ऊर्जामन्त्री रामकुमार राई पासाङले बताए। यद्यपि यस बारेमा थप छलफल भइरहेको जनाइएको छ। 

हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले माओवादी केन्द्रलाई सहयोग गर्ने सहमति भएको छ। चार स्थानीय तहमा कांग्रेस सिंगल लड्ने भए पनि मित्रवत् र स्वस्थ प्रतिस्पर्धा हुने पूर्वसांसद एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य फुयाँलले बताए। 

जिल्ला समन्वय समिति प्रमुख जनता समाजवादीलाई दिने सहमति भएको छ। जिल्ला समन्वय समिति उपप्रमुखको भागबन्डा छलफलकै चरणमा छ। गठबन्धन दलले पालिका प्रमुख, उपप्रमुखदेखि जिल्ला समन्वय समिति प्रमुखको भागबन्डा टुंग्याए पनि ७९ वडाको भागबन्डा टुंग्याउन बाँकी छ। 

भागबण्डामा प्रमुख र उपप्रमुख परेका दलभित्र पुनः उम्मेदवारको छनौट सुरु भएको छ। आकांक्षी धेरै भएकाले उम्मेदवार चयन थप सकसपूर्ण देखिएको छ। जिल्लामा एमाले पनि उम्मेदवार चयनमा जुटेको छ।

प्रकाशित मिति: : 2022-04-18 19:19:00

प्रतिकृया दिनुहोस्