पशुपतिको भाइरल बाँदर उर्फ ‘पवन’को दर्शन गर्न किन हुन्छ तँछाड मछाड ? (भिडियो रिपोर्ट)

Breaknlinks
Breaknlinks

पशुपतिनाथ मन्दिरको नजिकै संरक्षण गरेर राखिएको बाँदर यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। पशुपति क्षेत्रस्थित सूर्यघाटको खोरमा रहेको यो बाँदरको दर्शन गर्न दैनिक हजारौँ मानिसहरु आउन थालेका छन्।

कसैले खोर नजिकै टाउको लगे दुबै हात टाउकोमा राख्ने उसको स्वभावका कारण हनुमानको आशीर्वाद भन्दै आशीर्वाद लिने अनि सँगै टिकटक बनाउनेहरूको ताँती लागेको हो।

दुई सातादेखि चर्चामा आएको यो बाँदरको नाम ‘पवन’ हो। जसलाई यहाँ आउने मानिसहरुले ‘हनुमान जी’ भनेर बोलाउँछन्। यो बाँदरको दर्शन गरे मनले आँटेको पूरा हुने यहाँ आउने मानिसहरुकाे विश्वास छ।

अहिले यस बाँदरको दर्शन गर्न नेपालका विभिन्न ठाउँबाट मानिस आउने गरेको ‘पवन’काे रेखदेख गर्दै आएका प्रेम भेँडारीले बताए।

यहाँ आउने मानिसहरुले यस बाँदरसँग टिकटक बनाउने र फोटो खिचेर सामाजिक  सञ्जालमा राख्ने गर्छन्। जसकाकरण विगतमा पशुपति क्षेत्रमा डुल्ने यो बाँदर अहिले ‘स्टार’ बनेको छ।

त्यसोत त यो बाँदरको पनि रोचक कथा छ। करिब १३ वर्षअघि भारतबाट आएका एक साधुले यस बाँदरलाई पशुपतिमा ल्याएका थिए। यहाँका अन्यभन्दा फरक प्रजातिको यो बाँदर लामो समय ती साधुसँगै बसेको थियो। तर, ती साधुको मृत्युपछि यो बाँदरलाई अन्य बाँदरले झम्टिन थालेपछि यसरी छुट्टै राखिएको हो।

यस बाँदरको दर्शन गर्न आउने मानिसहरु लामो समय लाइन बस्ने गर्छन, जसका कारण मानिसहरुको भीड बढी हुँदा व्यवस्थापनमा समेत समस्या आउने थालेको भेँडारीले बताए।

नेपाली समाजमा कुनै पनि कुरा भाइरल हुन समय लाग्दैन। कुनै पनि कुराको वास्तविकता के हो ? त्यसको महत्व के छ ? भन्ने कुरा नबुझि जता–जता भीड हुन्छ त्यतै–त्यतै मानिसहरु लामबद्ध हुने गर्छन्। त्यही कारण यो बाँदर पनि भाइरल बन्न पुगेको हो। तर, यसरी यति धेरै मानिसहरु यस बाँदरको पछि लाग्दा मानिसहरुलाई के फाइदा हुन्छ ? त्यसका परिणाम भविष्यमा आउँला तर यसरी दैनिक मानिसकाे भीडबाट यस बाँदरलाई समस्या हुने पशु अधिकारकर्मीहरु बताउ्छन्।

प्रकाशित मिति: : 2022-04-18 07:26:00

प्रतिकृया दिनुहोस्