लेटाङ घटनामा नयाँ खुलासा: प्रहरी जवान उर्मिलाको मृत्यु गोली प्रहारबाट

File Photo
File Photo

मोरङको लेटाङ घटनामा मृत्यु भएकी प्रहरी जवान उर्मीला श्रेष्ठको गोली लागेर मृत्यु भएको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ। घाँटीमा छुरा प्रहार भएको भनिएपनि उनको गोली लागेर मृत्यु भएको अस्पतालको रिपोर्टमा उल्लेख छ।

विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोष्टमार्टम पछि दिएको रिपोर्टमा उर्मिलाको गोली लागेर मृत्यु भएको खुलेको हो। रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायरआर्म इन्जुरी’ उल्लेख गरिएको छ। प्रहरीले गरेको लामो अनुसन्धानपछि सरकारी वकीलको कार्यालयमा बुझाइएको अनुसन्धान प्रतिवेदनमा श्रेष्ठको शरीरबाट गोली निकालिएको उल्लेख छ।

श्रेष्ठलाई लागेको गोली नेपाल प्रहरीको विधि–विज्ञान प्रयोगशाला परीक्षण गर्दा त्यो प्रहरीको हतियारबाट निस्केको गोलीसँग नमिलेको जनाइएको छ। उनको पेटबाट निकालिएको गोली भने आधुनिक हतियारमै प्रयोग हुने गोली हाे।

हिंसात्मक झडप हुँदा प्रहरीले तीनपटक हवाइ फायर गरेको थियो। तर, नेपाल प्रहरीको विधि–विज्ञान प्रयोगशालामा महिला प्रहरीलाई लागेको गोलीको परीक्षण गर्दा प्रहरीको हतियारबाट निस्किएको गोलीसँग म्याच हुन नसकेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

प्रहरीको हतियारसँग महिला प्रहरीले हानेको गोलीको म्याच हुन नसकेकोले गोली प्रदर्शनकारीबाटै चलेको पुष्टि भएको छ।

‘घटना घटेको दिन प्रहरीको तीन वटा हतियारबाट फायर भएको खुलेको थियो’ जिल्ला सरकारी वकीलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरी शर्मा काफ्ले भने, ‘तर, महिला प्रहरीको शरिरमा भएको गोली प्रहरीको हतियारबाट चलेको पुष्टि भएन।’

महिला प्रहरीलाई गोली लागेर हत्या भएको गोली भेटिए पनि प्रहरीले हतियार भने फेला पारेको छैन।

प्रहरीले घटनामा ६३ जनलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई प्रहरीले अनुसन्धान पूरा गरि प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

पक्राउ परेका १६ जना बालबालिका समेत रहेकाले जिल्ला सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै तीन वटा मुद्दा दायर गर्दैछ।

पक्राउ परेकामध्ये १५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका सवालक १४ जनालाई कर्तव्य ज्यान र बाँकी ३२ जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी छ।

कति जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दामा अभियोग लैजाने भन्ने बारेमा जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय गरिसकेको छैन।

'बुधबार विहान सवालको हकमा निर्णय गर्नेछौं र सोही दिन अभियोग अदालत लैजाने तयारी गरेका छौं,' जिल्ला न्यायाधीवक्ता काफ्लेले भने। पक्राउ परेकामध्ये एक बालकलाई अदालतले अभिभावकको जिम्मामा लगाउने आदेश मंगलबार गरेको छ।

घटना के हो ?

नेपाल प्रहरी जवान उर्मिला श्रेष्ठको मोरङमा जनताको सेवा गर्दा गर्दै ज्यान लिइयो। जनताको सेवा गर्न फिल्डमा खटिएकी उनको जनताले नै ज्यान लिए।

एक जना ६ कक्षामा पढ्ने विद्यार्थीलाई उनकै शिक्षकले यौन दुर्व्यवहार भएको घटना बाहिरिएपछि शिक्षकलाई पक्राउ गर्न पुगेकी उर्मिलालाई गाउँलेले ज्यान लिएका हुन्।

स्थिति नियन्त्रण गर्न खाेज्दा प्रहरी जवान उर्मिला श्रेष्ठकाे मृत्यु भएकाे हाे। छुरा प्रहारबाट गम्भीर घाइते उर्मिलाको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले बिएल नेपाली सेवासँग भने।

आफ्नै गुरुले विद्यार्थीमाथि जबरजस्ती प्रयास गरेपछि आइतबार मोरङको शिक्षा विकास मावि तनावग्रस्त भएको थियाे।

विद्यालयबाट घर जाँदै गरेकी मोरङको लेटाङ– ८ जाँते माध्यमिक विद्यालयकी १२ वर्षीया बालिका करुणा राईको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै लेटाङ ५ को शिक्षा विकास मावि तनावग्रस्त भएको हो। कक्षा ७ मा पढ्ने १३ वर्षीय किशाेरीलाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले जबरजस्ती प्रयास गरेपछि विद्यार्थी उत्तेजित भएका थिए।

स्थानीयका अनुसार होलीको दिन ५६ वर्षीय शिक्षक पौडेलले बालिकाको घरमै गएर करणी प्रयास गरेका थिए। घरमा कोही नभएको बेला पुगेका शिक्षक पौडेलले जबरजस्ती गरेपछि बालिकाले चिच्याएर प्रतिकार गरेकी थिइन्। 

बालिकाको प्रतिकारपछि पौडेल त्यहाँबाट भागेका थिए। लेटाङ–३ घर भएका पौडेल सोही विद्यालयका निमावि तहका सामाजिक शिक्षक हुन्।

यसअघि पनि दुईपटक बालिका र किशोरीमाथि झम्टिएका पौडेललाई स्थानीय अभिभावक र विद्यालयको प्रशासन बसेर पुन: यस्ता घटना नदोहोर्याउन चेतावनी दिइएको थियो। तर, पौडेलले तेस्रो पटक आफ्नै शिष्यलाई जबरजस्ती गरेपछि शिक्षा विकास मावि  दिनभर तनावग्रस्त रह्यो।

पीडित विद्यार्थीले अभिभावक लिएर आइतबार विद्यालय प्रशासनलाई कुरा राखेपछि विद्यार्थीहरू उत्तेजित भएका थिए। उत्तेजित विद्यार्थीले शिक्षक पौडेलको को२७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरिदिएका छन्। विद्यार्थीले शिक्षकलाई मार्ने भन्दै धावा बोलेपछि दिनभर शिक्षक पौडेललाई प्रहरीको घेराबन्दीमा विद्यालयभित्रै संरक्षण दिइएको छ। 

प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा हालेर शिक्षकलाई उद्दारको प्रयास गरेको थियो। तर, छिमेकी विद्यालयका विद्यार्थी समेत भेला भएर शिक्षक पौडेलविरुद्ध नाराबाजी गर्दै विद्यार्थीले एम्बुलेन्समाथि पनि ढुङ्गा मुडा  गर्न थालेपछि प्रहरीले दुईसय राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। 

लगातार किशोरीमाथि अभद्र व्यवहार हुन थालेपछि नगरप्रमुख शङ्कर राईले संविधान संसोधन गरेर भएपनि बलात्कारमा संलग्न हुनेहरूलाई फाँसीको सजायको व्यवस्था गर्न माग गरेका छन्। 

उनले घटनालाई राजनीतिक रङ्ग नदिई निष्पक्ष छानविन गर्न प्रशासनसँग माग गरे। 'नगरपालिकाले आवश्यक सहयोग गर्छ।  तर, शिक्षक दोषी ठहरे कारवाहीको भागेदार बन्नुपर्छ,' उनले भने। 

उगले यसअघि पनि यस्ता घटना भएर लुकाइएको प्रति आपत्ति जनाएका छन्।

प्रकाशित मिति: : 2022-04-12 23:34:00

प्रतिकृया दिनुहोस्