वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतगणनास्थलमा सीसीटिभी क्यामेरा राखिने भएको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणनास्थलमा सीसीटिभी क्यामेरा राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै पालिकाहरुलाई अनुरोध गरिएको बताए।
आयोगले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उनले विभिन्न पालिकाहरुमा सीसीटिभी क्यामेरा जडान भइरहेको र कतिपय पालिकाहरुले जिज्ञासा राखेको उनको भनाइ थियो।
कति निर्वाचन स्थलमा क्यामेरा जडान गरियो भन्ने पूर्ण विवरण प्राप्त नभएको भए पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनले बताए।
दुर्गम स्थानका मतदानस्थलमा बत्ती, इन्टरनेटको सुविधा नहुने भएकाले उक्त स्थानमा भने सीसीटिभी क्यामेरा राख्न सम्भव नभएको उनको भनाइ थियो।