गुरु चन्दननाथले लछालकृर्ति पैकेलोलाई अह्राएर धान खेतीको विकास र विस्तार गरेदेखि नै चैत १२ गते बारुवा, १६ गते सोरुवा र २० गते बिसुवा जुम्लीहरुले मनाउने ठुला पर्व बनेका छन्।
आफ्ना बलशाली शिष्य पैकेलोलाई धान खेतीको विकास र विस्तारको अर्ती दिनेबेला उनले उक्त क्यालेन्डर बताएको देखिन्छ। जुन आज पर्यन्त कायम छ।
चैत १२ गते नजिकको खोला, खाल्डो वा घरको भाँडोमा चार दिने भिजेको धानलाई १६ गते उतारेर घाममा सुकाउने। त्यही बेला चिउरा कुट्ने धानलाई अलग राखिन्छ।
हल्का सुख्खा भएको धानलाई भोजपत्र, राडी पाखी, सल्लाका हरिया झुप्राले (पताका गुछा) बेरेर भान्साको एक कुनामा न्यानो गरि राख्ने गरिन्छ।
त्यसपछि हरेक दिन बिहान, साँझ चिसो पानी छर्किने गर्दा धानको बीउ अंकुराउन थाल्छ। यसरी अंकुराएको बीउ चैत बीस गते बेर्नामा लगेर छरिन्छ।
धानको बीउ भिजाउने, उतार्ने र छर्ने दिन पर्ने पर्व जुम्लाका लागि विशेष मानिन्छन्। त्यसध्येको चैत १६ गते अर्थात सोरुवा हरेक हिसाबले सम्झिन योग्य छ।
१६ गते बिहानैदेखि जुम्लीका प्रत्येक घरमा उत्साह हुन्छ। किनकि त्यो दिन घरमा चिउरा कुटिन्छ। चिउरा कुट्ने हुनाले घरका बालबालिकामा छुट्टै खालको उमङ्ग हुन्छ।
उनीहरुका निम्ति भनेर बिहानै बजु र आमाले चिउरा राख्ने थैलो बनाइदिएकी हुन्छिन्। हरेक आमाका फरकफरक सीप थैलोमा देखिन्छ। कसैले जतिबेला पनि खोल्न, बन्द गर्न मिल्ने सुर्के थैलो तयार परिदिएकी हुन्छिन् भने कसैले दुबैतिर बन्द गरेर जेठसम्म राख्न मिल्ने गरी थैलो बनाइदिएकी हुन्छिन्।
बजु र आमाका पुराना धोती, गुन्युका फेरबाट बनेका थैलाे कसैकसैले आफ्नो कमिजमै झुन्ड्याएर राखेका हुन्छन् भने कतिले एउटा आफूले चिउरा कुटेको एक दुई दिन पछाडिसम्म खान मिल्ने गरी बनाएको एक र पछिसम्म खान मिल्ने गरिराख्नलाई अर्को गरेर दुई थैलो पनि बनाएका हुन्छन्।
बुजु र आमाले बनाइदिएका थैलाेभरी खुसी बोकेर केटाकेटीहरु खाना खाने बित्तिकै जंगलमा गएर सल्लाका सिम्ता र पात खेडेर (जम्मा पारेर) ल्याउँछन्।
ती सिम्ताको आगो बालेर चार दिन भिजाएका धान भुजेङ्गोमा (चाख्लो फलामको कराई) भुटिन्छ। केही धान भुजी फुरेजस्तो भएको बेला निकालेर ओखलमा खन्याइन्छ। ताततातो भुटेको धानलाई बलिया महिलाहरुले मुसलले छिटोछिटो कुट्छन् र चिउरा तयार हुन्छ।
मुसलको एकातिर फलामको सामो र दाँत लगाएर धान कुट्न मिल्ने बनाइएको हुन्छ भने अर्काेतिरको भागलाई अर्धगोलाकार गरी ताछिएको हुन्छ।त्यो भागले मसला कुट्ने, तेल पेल्ने कच्चा पदार्थ कुट्नेलगायतको काम गर्छ। उक्त भागले नै थिचेपछि धान चेप्टिएर चिउरा बन्छ।
चिराउ कुट्ने बेला गरिएको श्रम विभाजनको व्यवस्थापन कुनै पाठ्यक्रममा थुपारिएको सिद्धान्तभन्दा बेसी ज्ञानबर्धक हुन्छ। बलिया युवा उमेरका महिलाहरु मुसल समातेर चिउरा कुट्न लाग्छन्। अधबैंसे महिलाहरु भुजेङ्गोका धान भुट्न लागेका हुन्छन् भने पाका उमेरका महिलाहरु कुट्न लागेका चिउराहरु वरिपरि छरिन नदिने गरी कुचो लगाउने र धानको भुस निफन्ने काम गर्छन्।
पाका महिलाले निफनेको चिउराको पहिलो घान घरको कुल देउता र मान्यगन्य देउताका लागि भनेर चढाइन्छ। त्यसलगत्तै पहिलो फाँको केटाकेटीको मुखमा पर्छ।
उनीहरुका रसिला थोलाले (मुखले) अरुलाई पनि खाउँखाउँ बनाउँछ। त्यसपछि क्रमश चिउरा कुट्न मुसल समाएकी चेलीबुहारी, धान भुट्ने अधबैंसे महिला र दाँत नझरेका बुढाुबुढीको मुखसम्म पस्छ।
ताताता चिउराको स्वादले तातेको जीउले फेरि उही क्रम दोहोर्याउँछ। यस्तो काम वल्लापल्ला छ/सात घरका महिलाहरु मिलेर गर्ने गर्छन्। ओखल कुदेको घरमा श्रम सहकार्यमा आधारित सामूहिक चिउरा कुटाई भइरहको हुन्छ।
सबैका घरमा भिजाएका धानका चिउरा सकेसम्म उही दिन कुटिन्छ। नसकिएको खण्डमा भोलिपल्ट बिहान पनि त्यसरी नै कुटिन्छ। चिउरा कुटेको साँझ घरमुलीले मह, चिनी, भेली, दही मिसाएर नगि बनाउँछन्। नगि वर्षभरिमा बिरलै बन्ने विशेष परिकार हो।
भोलिपल्टबाट बिहे गरेर पोइली घर गएकी चेलीलाई चिउराको पोको पारेर दाइ, भाई, बुबालाई भारे बनाएर नगि पुर्याउन पठाउने गरिन्छ।
आमाबुबा, बाजेबज्यै, साखा सन्तानका कोही मरेर जुठो परेको छ भने त्यो साल नगि पुर्याइँदैन। यस्तो बेला घरदेखि टाढा रहेकी छोरीचेलीहरु बेदना पोखेर आफन्त सम्झिँदै रुन्छन्। यस्तो बेला उनीहरुको मन बुझाउन छरछिमेकीबाट नगिको पोको पारेर दिने गरिन्छ।
यसरी सबैलाई बाँडेर पनि बचेका चिउरा भकारीमा सुरक्षित राखिन्छ। ती चिउरा जेठमा धान रोप्नेबेला रोप्नेरी, हली, बाउसेहरुलाई खान दिने गरिन्छ। पछिल्लो समय बजारमा तयारी चिउरा आउन थालेपछि चैतमा कुटेको चिउरा राखिराख्नु पर्ने अनिवार्यता छैन।
जहाँ-जहाँ मार्सी धान खेती गरिन्छ त्यहाँ-त्यहाँ यो क्रम चलिरहेको छ। यो झण्डै आठ सय वर्षदेखि चलिआएको एक अटुट शृङ्खला हो।