औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ भएपछि उद्योगहरू बन्द गर्ने चेतावनी

मोरङका उद्योगी व्यापारीहरूले औद्योगिक क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्न माग गरेका छन्।

विद्युत प्राधिकरणले गत हप्तादेखि १२ घण्टासम्म अघोषितरूपमा गरिएको लोडसेडिङले उद्योग कलकारखाना चलाउनै नसक्ने अवस्था भएको भन्दै उनीहरूले यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार सङ्घ र नेपाल उद्योग परिसङ्घ प्रदेश १ ले मङ्गलबार विराटनगरमा पत्रकार सम्मेलन गरी यस विषयमा सम्बन्धित निकाय गम्भीर भई तत्काल विद्युत आपूर्ति सूचारु नगर्ने हो भने सम्पूर्ण उद्योगहरू बन्द गर्न बाध्य हुने बताए।

‘१२ घण्टासम्म गरिएको लोडसेडिङले उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको छ। तत्काल विद्युत आपूर्ति सुचारु नगर्ने हो भने सम्पूर्ण उद्योगहरू बन्द गर्न बाध्य हुने र यसबाट सिर्जना हुने थप भयावह अवस्थातर्फ गम्भीर हुन सम्बन्धित पक्षलाई समयमै सचेत हुन आग्रह गर्दछौँ’, पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएकाे छ। 

प्राधिकरणका जिम्मेवार पदाधिकारीले चाहिएजति विद्युत दिन्छौँ भने पनि एक्कासी मूल्यवृद्धि भयो भनी विद्युत आयात गर्न सकिएन भन्नुले हाम्रो ऊर्जाको वास्तविक अवस्था झल्काएको विज्ञप्तिमा उल्लेख छ।

विश्वव्यापी रूपमा बढिरहेको मूल्यवृद्धि तथा भारतमा चरम ऊर्जा सङ्कट भई अप्रत्यासित मूल्य वृद्धि हुँदा नेपालले खरिद गरिरहेको मूल्यमा बिड नपर्दा क्षणिक सङ्कट भएको तर नेपाल विद्युत प्राधिकरणले जुनसुकै मूल्यमा पनि खरिद गरी औद्योगिक क्षेत्रमा उर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने प्रतिबद्धता जनाए पनि दुई दिनमै फेरि १२ घण्टा विद्युत कटौती गर्ने कार्यले भनाइ र गराइमा फरक देखिएकाले जिम्मेवार पदाधिकारीको विश्वसनियतामा प्रश्नचिन्ह खडा भएको बताइएको छ।

‘उद्योगलाई आवश्यक विद्युत उपलब्ध गराउने दायित्वको सरकारको हो’, विज्ञप्तिमा भनिएको छ, ‘मूल्य कति पर्छ भन्ने विषय सरकारको भएकाले उद्योग व्यवसाय सञ्चालन गर्न आवश्यक विद्युत नियमित आपूर्ति गरिनु पर्दछ भन्ने हाम्रो माग छ।’

नेपाल उद्योग परिसङ्घका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल तथा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलद्वारा हस्ताक्षति विज्ञप्तिमा उर्जा सङ्कटलाई अविलम्ब समाधान गरी उद्योगहरूमा निरन्तर विद्युत आपूर्तिको व्यवस्थाका लागि अनुरोध गरिएको छ।

प्रकाशित मिति: : 2022-03-29 13:46:00

प्रतिकृया दिनुहोस्