काठमाडौंमा ‘नर्सरी’ व्यवसाय : एउटा बोटको मूल्य एक लाख !

स्वयम्भूको ‘नक्साल’ मा प्रेमकुमार खड्काले ‘मुस्कान नर्सरी’ सञ्चालन गरेको १८ वर्ष भयो। आजभोलि उनको बिहानदेखि बेलुकासम्म मात्र एउटै काम हुन्छ– बोटबिरूवासँग रमाउने।

आफूलाई ‘प्लान्ट’ को माया लाग्ने बताउने उनलाई बोटबिरूवासँग कुरा गर्न नपाउँदा खल्लो लाग्ने बताउँछन्। ‘बोटबिरूवा नै मेरो साथी हो,’ उनले भने।

उनले बोटबिरूवालाई रोप्न र हुर्काउन आफ्नै काकाबाट सिकेका हुन्।

‘अंकलले नर्सरी चलाउनुभएको ३५ वर्ष भयो,’ उनले बिएल नेपाली सेवासँग कुराकानी गर्दै भने, ‘उहाँले सीप विदेशमा सिक्नुभयो। अनि नेपालमै नर्सरी खोल्नुभयो।’

विदेशमा बिरूवालाई हुर्काउने काम जानेका अंकलले स्वदेशमै फार्म खोलेको देखेर आफूलाई प्रेरणा मिलेको उनी बताउँछन्।

‘अंकलले नर्सरीमा काम गरेको देख्दा मलाई बिरूवा रोप्न खुबै चासो लाग्थ्यो,’ उनले विगत सम्झिँदै भने, ‘अनि मैले पनि विस्तारै बिरूवा रोप्न सिक्दै गएँ।’

पहिलेको दिनहरूमा बोटबिरूवाका बारेमा नजान्ने उनी आजभोलि निकै सिपालु भएका छन्। ‘अहिले त अरूलाई सिकाउनु सक्छु,’ हास्दैँ उनले भने।

सुरूवाती दिनहरूमा नर्सरीको काम गर्दा असहज भएकाे बताउने उनी अहिले भने सजिलो भएको बताउँछन्।

‘मैले काम सुरू गर्दा आफैँले बिरूवा उत्पान गर्नुपर्थ्यो, तर आजभोलि विदेशबाट बिरूवा आउने गर्छ,’ उनले भने।

झण्डै दुई दशकदेखि बिरूवालाई स्याहार्ने उनीकहाँ थरिथरिका बिरूवाहरू छन्। जसको मूल्य दुई सयदेखि लाखौँसम्म पर्छ।

उनीसँग २५ वर्ष पूरानो ‘लण्डन धुपी’ बोट छ, तपाईं पत्याउनुहोस् या नपत्याउनुहोस् जसको मूल्य एक लाख हो। ‘त्यो अंकलले राख्नुभएको बोट हो, जसलाई एउटा सानो गमलामा राखिएको छ,’ खड्काले भने।

आजभोलि आफूलाई बोटबिरूवाको जानकार बताउने उनी बिरूवा दुई किसिमको हुने बताउँछन्। एउटा ‘आउटडोर’ र अर्को ‘इनडोर’।

‘आउटडोर प्लान्ट’

घरबाहिर वा कौसीमा राखिने बिरूवालाई ‘आउटडोर प्लान्ट’ भनिन्छ। जहाँ सुन्तला, कागती, जुनार, एभोकाडो, हलुवावेद, स्टार फूड र आलमोड पर्छ।

‘इन्डोर प्लान्ट’

घरभित्र राख्ने बिरूवालाई ‘इन्डोर प्लान्ट’ भनिन्छ। यसभित्र एरिका पाम, रिक्सोना पामलगाायत फन पर्दछ। जसको बिक्री धैरै हुने गरेको उनी बताउँछन्। त्यस्तै ‘एन्थेरियम, जेजे प्लान्ट, जेट प्लान्ट र लीली फूल पनि उनीकहाँ धेरै बिक्री हुने गर्छ।

कसरी रोप्ने बिरूवा?

बिरूवा रोप्नका लागि भारी माटो आवश्यक नभएको उनी बताउँछन्। ‘बिरूवा रोप्ने भन्दैमा धेरै माटो हाल्नु हुँदैन। यसले बिरूवालाई बढाउँदैन, बरू बोट मर्छ,’ उनी भन्छन्।

बिरूवालाई सपार्नका लागि कोकोपिट चाहिने उनको भनाई छ। ‘कोकोपिटले माटोको काम गर्छ, साथै यसले जरा उमार्न पनि मदत गर्छ,’ उनले भने, ‘यो कोकोनटको जट्टा पेलेर बनाइन्छ। जुन बिरूवाको लागि फाइदाजनक छ।’

प्रकाशित मिति: : 2022-03-31 14:36:00

प्रतिकृया दिनुहोस्