‘एनआरएनएको प्रतिबद्धता, समृद्ध राष्ट्र निर्माणमा एकता’ भन्ने नाराका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए)को ललितपुरमा सम्पन्न दशौं विश्व सम्मेलनको समापन भएको छ।
सम्मेलनले तीनजना अध्यक्षले पालैपालो कार्यभार सम्हाल्ने गरी बहुपदीय प्रणाली घोषणा गरेको छ। पहिलो कार्यकालमा कुल आचार्य, दोस्रो रबिना थापा र त्यस पछि बद्री केसीले पालैपालो गर्नेगरी नयाँ नेतृत्व चयन भएको छ।
समापन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीको पहिचान, गरिमा बढाउनुको साथै पेशा, व्यवसायमा संलग्न रही देश विकास निर्माणमा सहयोग पुर्याउन गैरआवासीय नेपालीहरुलाई आग्रह गरे। एनआरएनएको दशौं विश्व सम्मेलन समापन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली नागरिकता ऐन ल्याउन सरकार प्रतिबद्ध रहेको बताए। उनले विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि र पूँजीलाई राष्ट्रिय विकासमा सहयोग गर्न आग्रह गरे। सरकारले सहजिकरण गर्दै सहज रुपमा लगानी गर्नसक्ने र प्रतिफल दिनसक्ने वातावरण निर्माण गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।
विश्वभर छरिएर बसेका नेपालीहरुको असंगठित पूँजी र ज्ञानलाई एकीकृत गरी मुलुकको आर्थिक विकासमा प्रयोग गर्न उनले आग्रह गरे। प्रधानमन्त्री देउवाले भने,‘२०७२ सालको भूकम्पको बेला उद्धार तथा राहतमा सहयोगको सह्राहना गर्दछु।’
त्यसैगरी लाप्राक लगायतका ठाउँमा सुरक्षित आवास निर्माणमा एनआरएनएले गरेको सहयोगको प्रशंसा गरे। कोभिड– १९ को बेला पिसिआर किट, अक्सिजन सिलिण्डर दिएर नेपालीको जीवन बचाउन सहयोग गरेको बताए।
‘पार्कदेखि लिएर अक्सिजन प्लान्ट निर्माणमा महत्वपूर्ण सहयोग भएको छ। नेपाल र नेपालीको अप्ठेरो परेको बखत समन्वयप्रति सरकारले धन्यवाद ज्ञापन गर्छ’, प्रधानमन्त्री देउवाले भने, ‘नेपाली भाषा, संस्कृति, परम्परा, कलाकृति हस्तान्तरण गर्न सेतुको रुपमा काम गरेको छ। यसलाई आगामी दिनमा पनि नेपाली भूमि र संस्कृतिलाई विदेशमा प्रबद्र्धन गर्न सहयोग पुराउन आग्रह गरिएको छ।’
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पैसा र बुद्धि बोकेर नेपालमा आएर नयाँ काममा लगानी गर्न सुझाव दिए। उनले देश निर्माण गर्ने उद्देश्य राखेर अघि बढ्न आग्रह पनि गरे।
त्यसैगरी कार्यक्रममा संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले राजनीतिक दलहरु धेरै ठूलो झगडा गर्न पोख्त भएको बताए।
'हामी झगडा गरे पनि एनआरएनएका नागरिकताका कुरा, एक ढिक्का बनाउनुपर्छ भन्नेमा हामी एक ठाउँमा उभिन्छौं’, उनले भने, ‘हाम्रा आ–आफ्नै पार्टी छन्। तर, हाम्रो एउटै थलोमा उभिने ठाउँ त्यो एनआरएन हो।’ संघीय कानुन बमोजिम, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार पाउनेगरी गैर आवासीय नेपालीलाई नागरिकता सम्बन्धी नेपालको संविधानले महत्वपूर्ण र विशेष व्यवस्था गरेको नेम्वाङले बताए।
पूर्व अध्यक्ष जीवा लामिछानेले संगठनमा केही विसंगतिको अन्त्य भएको बताए। नेपालका प्रमुख राजनीतिक दल, वर्तमान सरकारले एकजुट हुन आग्रह गरेको सदासयताका लागि उनले धन्यवाद ज्ञापन गरे। उनले एकता नै शक्ति भएको भन्दै मनमुटाव बिर्सेर कर्मभूमिमा फर्केर बाँकी कामलाई पूरा गर्ने बताए।
महाधिवेशनले २०२१-२३ कार्यकालका लागि कुल आचार्य, रबिना थापा र डा बद्री केसीले क्रमैसंग नेतृत्व गर्ने गरी सहमति गरेको छ।