आँखा उपचारमा देशकै उत्कृष्ट बन्यो तुलसीपुर उपमहानगर

दाङको तुलसीपुर उपमहानगरपालिका आँखाको उपचारमा देशकै उत्कृष्ट पालिका भएको छ। नेपालमै पहिलो पटक अन्धोपन निवारणमा काम गरेको भन्दै तुलसीपुरलाई नेपाल नेत्रज्योति संघले उत्कृष्ट सूचिमा राखेको हो। 

संघको ४४औं स्थापना दिवसका अवसरमा देशमै उत्कृष्ट भएको भन्दै नगर प्रमुख घनश्याम पाण्डेलाई सम्मानसमेत गरियो। काठमाडौंमा भएको नेत्रज्योति संघको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सम्मान पत्र प्रदान गरेका थिए

उपमहानगरपालिकाले उज्यालो तुलसीपुर कार्यक्रम अन्तर्गत नेपाल नेत्रज्योति संघ दाङको साझेदारीमा ३ सय बढीलाई उज्यालो संसार देखाएको राप्ती आँखा अस्पताल तुलसीपुरका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिए। 

देशका ७५३ वटा स्थानीय तह मध्य अन्धोपन निवारणमा नेत्रज्योतिसंघ दाङसँग साझेदारीमा काम गर्ने पहिलो स्थानीय तह तुलसीपुर उपमहानगरपालिका भएको सूचना अधिकारी खड्काले बताए। 

तुलसीपुरलाई मोतिया विन्दु मुक्त बनाएर उज्यालो तुलसीपुरको अवधारणा ल्याएको तुलसीपुर उपमहानगरपालिकाको अहिले अन्य पालिकाहरुले पनि सिको गर्न थालेको नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्ण गिरीले बताए।

संघका अध्यक्ष गिरीका अनुसार मोतिया विन्दुको अप्रेशनका लागि उपमहानगरले प्रतिव्यक्ति ५ हजार र संघले ३ हजार व्यहोर्दै आएको छ। 

यसका लागि गरिब तथा विपन्न वर्गका नागरिकले सम्बन्धित वडाको सिफारिसमा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले नेत्रज्योति संघलाई पत्राचार गरेपछि मोतिया विन्दुको अप्रेशनका लागि उपचार सेवा पाउने व्यवस्था गरिएको छ। 

निशुल्क मोतिया विन्दुको अप्रेशनका लागि तुलसीपुर उपमहानगरपालिका र नेपाल नेत्रज्योति संघ दाङका बिचमा २०७४ भदौमा सम्झौता भएको थियो।

प्रकाशित मिति: : 2022-03-27 18:23:00

प्रतिकृया दिनुहोस्