गैर–आवासीय नेपाली संघको दशौँ महाधिवेशनबाट कुल आचार्य नयाँ अध्यक्ष चुनिँदै 

तेजन खड्का

काठमाडाैँ

गैर–आवासीय नेपाली संघको दशौँ महाधिवेशनबाट केन्द्रीय सल्लाहकार कुल आचार्य नयाँ अध्यक्ष बन्ने भएका छन्। 

काठमाडौँमा शनिबारदेखि शुरु भएको दशौँ महाधिवेशनको बन्द सत्रमा अध्यक्ष कुमार पन्तले गएको झन्डै ८ महिनादेखि जारी प्रतिनिधि सम्बन्धी विवादका कारण संस्था फुटको संघारमा पुगेको बताएका छन्।

संस्थालाई एकताबद्ध राख्न भविष्यमा नजिर नबस्ने गरी बाँकि कार्यकालको लागि बहुपदीय प्रणाली लागू गर्न विधान संशोधन गर्न उनले प्रस्ताव गरेका छन्। 

फ्लोरले विधान संशोधन प्रस्ताब ध्वनि मतले पारित गरे पछि आइतबार संशोधित विधान प्रमाणीकरणका लागि परराष्ट्र मन्त्रालय पठाइनेछ। परराष्ट्र मन्त्रालयले प्रमाणीकरण गरे पछि संशोधित विधान लागू हुनेछ। 

संस्थामा सहमतिको आधारमा नयाँ नेतृत्व चयन गर्न दशौँ महाधिवेशनले एक सात सदस्यीय अध्यक्ष मण्डल पनि गठन गरेको छ। 

संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको संयोजकत्वमा गठित अध्यक्ष मण्डलमा पूर्व अध्यक्षहरु शेष घले, देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, पूर्व संरक्षक राम प्रताप थापा तथा अध्यक्ष कुमार पन्त सदस्य रहेका छन्।

बन्द सत्रलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष डा. महतोले संस्था अहिले विकट स्थितिमा पुगेको बताएका छन्। उनले अनलाइन भोटिंग र ६५ प्रतिशत, २५ प्रतिशत र दश प्रतिशत प्रतिनिधि वर्गीकरणसंग आफु सहमत नभएको बताएका छन्। 'संस्था बिगारेको पुरानाले हो, नयाँले होइन,' उनले भने। उनले संघको छवि बिग्रेको भन्दै केहि समय पछि यो मेटिएर जाने आशा व्यक्त गरेका छन्।

आचार्यले संस्था विभाजन गर्न नहुने भन्दै अध्यक्ष पदका अर्का उम्मेदवार बद्री केसीसँग १७–बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए। तर उक्त सहमतिसँग असन्तुष्ट प्रमुख संरक्षक शेष घलेले बोलाएको अधिवेशनले विनोद कुँवर (दक्षिण–कोरिया)को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको जनाएको छ।

शनिबार अपरान्ह ललितपुरस्थित होटेल हिमालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघको  दशौँ महाधिवेशनको उद्घाटन गरेकी थिइन्।

उनले संसारभरि फैलिएका गैर आवासीय नेपालीहरुलाई आफुसंग रहेको सीप, अनुभव र पूँजी समृद्ध नेपाल निर्माणमा उपयोग गर्न आह्वान पनि गरिन्।

प्रकाशित मिति: : 2022-03-27 07:09:00

प्रतिकृया दिनुहोस्