'नुनदेखि सुनसम्म' पाइने काठमाण्डूको असन सहर। पलपलको चहलपहल र भीडभाडले भरिपूर्ण त्यहाँका स–साना गल्लीहरू।
जताततै हतारै–हतारमा भेटिने हजारौँ मानिसहरू। ती मानिसहरू ठाेक्दै–ठोकिदै हिँड्ने चोक–गल्ली।
गल्लीलाई पछ्याउँदै हिँड्दा असनको कुनामै भेटिन्छ– रञ्जना गल्ली। रञ्जना गल्लीको भित्रपट्टि छ– ‘रञ्जना सोडा पसल’। रञ्जना गल्ली र रञ्जना सोडा पसलको बेग्लै संघर्ष र गर्वलाग्दो इतिहास छ। जसलाई ७५ वर्षअघि बुद्धिराज सुवालले एककान, दुईकान गर्दै मैदानका रूपमा सुचारू गरेका थिए। तर अहिले उनका छोरा सुरेश सुवालले यो सोडा पसल हाक्दैआएका छन्।
६० वर्षे सुरेश ‘बा’को साख जोगाउदै सोडा पसलमा रमाउँदै अनि कमाउँदैआएका छन्। उनको उर्जाशील समय सोडा बेचेरै बित्यो। सोडा नै जीवन – जीवन नै सोडा बनेको छ।
सुरेशले सोडा बनाउन सानै छदाँ सिकेका हुन्। यो उनका लागि खान्दानी पेशा पनि हो। ‘बा’ साेडा बेचेरै बिते। अहिले उनी सोडा व्यवसायमै रमाइरहेका छन्। सुरेश बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म काममै हुन्छन्। अनि बेच्छन्। त्यसैगरी वर्षौदेखि उनी दिनैभर व्यस्त हुँदैआएका छन्।
एकताका सामान्य मानिसहरूका लागि सोडा पिउनु भनेको ठूलै हाउगुजी जस्तै थियो। तरपनि बुद्धिराजले हरेस खाएनन्। सोडाको बजार बढ्दै जाँदा उनले एकदिन पसल खोल्ने टुंगाे गरे।
२००३ सालमा जनसेवा हलबाट शुरू भएको सोडा पसल अहिले ‘रञ्जना सोडा पसल’का रूपमा परिचित छ। नेपालमा पहिले–पहिले राणाहरू मात्रै सोडा पिउँथे। उनीहरू हुस्की तथा वाइनसँगै सोडा मिसाउथे। राणाहरूले जर्मनीबाट प्रस्तुतीकरणको रूपमा मेसिन पनि भित्र्याएका थिए। पछिपछि ‘तिमिहरू पनि गरिखाउँ’ भनी दरबारका सुबेद्दारलाई सुम्पिए, साेडा बनाउने मेसिन।
सुरेशले भने, ‘बुबाको सुबेद्दारसँग राम्रो सम्बन्ध थियो। सुबेद्दारले सोडा बनाउने मेसिन बुबालाई नै दिए। सोडा बनाउन पनि सिकाए।’
पहिला–पहिला सोडा बनाउन सजिलो थिएन। काम गर्नेहरू पटकपटकको प्रयासपछि मात्रै सिक्थे। कहिले बोतल फुट्थ्यो। कहिले के समस्या हुन्थ्यो। यस्ता अनेकौँ समस्या आइलाग्थे। सोडा बनाउने मानिस टिकाउनै गाह्रो। तर बुद्धिराजले सोडा बनाउन र बेच्न छाडेनन्।
उपत्यकामा कामको अभाव थिएन। तर उनकाे हातमा सीप भने पटक्कै थिएन। परिवार पाल्नैपर्ने बाध्यता थियो। सानो परिवार थिएन। खर्च गजक्कै आउँथ्यो।
पारिवारिक जिम्मेवारी र छोरा–छोरीमाथिको कर्तव्यले बुद्धिराजलाई तनाबै–तनाब थियो। जिम्मेवारीको भारीले कहाँ शान्तिसँग बस्न दियो र– उनलाई? दुःखै–दुःखको पहाड फोरेर भर्खर–भर्खर आम्दानी थिग्रँदै थियो। जब सोडा पसल व्यापार लम्कदै थियो। एक्कासी हेर्दाहेर्दै जनसेवा हलमा आगो दन्कियो।
बुद्धिराजको ‘सोडा सपना’माथि आगोको धुँवाले टम्मै ढाक्यो। विस्तारै झाङ्गिदै गरेको सोडा व्यापार बीचमै रोक्नुपर्यो। उनी धेरै दिनसम्म चिन्तित बने। तर मनमा आशा भने पटक्कै मारेनन्। उनी फेरि उठे। र, सोडा व्यापारमै दौडिए।
हलमा आगो लागेपछि बुद्धिराजले नयाँ ठाउँमा पसल खोले। सोडा पिउनेहरूको चहलपहल र भीडभाडले घरबेटी खूब् कराउर्थे। हिँड्ने बाटो ओगट्यो भन्र्थे। बुद्धिराजलाई बेलाबेला लाग्थ्यो– काठमाडौँ सहरमा टिकि खानै मुस्किल छ।
कहिलेकाहीँ हप्तैपिच्छे पसल सार्नुपर्ने अवस्था आइलाग्थ्यो। अर्काको घर न पर्यो। दिनहुँजसो घरबेटीको बोलीले मन चसक्कै दुखाउथ्र्यो। घरबेटीले अनेक बाहाना बनाएर घर छाड्न बाध्य पार्थे।
कतिपय घर–मालिकहरू पसलको भीड देखेर कराउर्थे। कतिले त सोडा बनाउन सिक्न सम्म सिक्थे। आफै व्यापार गर्छु भनी घर छाड्न उर्दी गर्थे। तर बुद्धिराजले पेसा छाडेनन्। कामलाई निरन्तरता दिइरहे।
‘रञ्जना सोडा पसल’लाई चिनाउन सुरेशले निकै मेहेनत गरेका छन्। आजको दिन देख्नलाई उनले कुनै बेला निकै दुःख भोगेका थिए। बुद्धिराजले बेला बखत घरबेटीको घोचपेच सुनिरहे। एकताका उनले पसल जोगाउन घरै बेचेका थिए।
‘जनसेवा हलमा आगो लागेपछि बाले धेरै ठाउँमा सोडा पसल राखे। तर कसैले काम गरी बस्न–खाना दिएनन्,’ सुरेश भन्छन्। बुद्धिराजले एक समय पशुपतिनाथको शरणमा पुगी बिन्ती समेत चढाए। ‘के गर्न, कसो गर्नु। जे भएपनि भोग्नु नै पर्यो। बल्ल पशुपतिनाथले मेरो बिन्ती सुने,’ उनले बिएल नेपालीसँग भने।
बुद्धिराजले स्थापना गरेको ‘रञ्जना सोडा पसल’ सुरेशले देशभर विस्तार गर्ने सोचमा छन्। उनी ठाउँ–ठाउँमा पसल खोलेर सोडा चखाउने मनसायमा छन्। सोडाले उठाएको सुवाल परिवारको सानदार जीवन सोडा पिउदै–पिलाउदै बितिरहेको छ।