पाँच दिन कार्यालय धाउँदा पनि बनेन जन्मदर्ता

चन्दननाथ नगरपालिका वडा नम्बर १ का टंकशरण आचार्य पाँच दिनदेखि वडा कार्यालय धाइरहेका छन्। छाेराकाे जन्मदर्ता गर्नकाे लागि यतिका दिन कार्यालय धाउनु परेपछि उनी याे राजनीतिक प्रणालीबाट निराश भएका छन्।

पाँच दिनसम्म काम थाँती राखेर वडा कार्यालय जाँदा पनि काम नबनेका कारण गुनासाे गर्नु परेकाे उनकाे भनाइ छ।

'चन्दननाथ नगरपालिका– १ मा लगातार पाँच दिनसम्म छोराको जन्मदर्ताको लागि धाउँदा पनि काम बनेन,' उनले भने,'वडामा जन्मदर्ताको लागि जाँदा ईन्टरनेट नचलेको भन्दै फर्काइयाे।'

आइतबारदेखि बिहीबारसम्म लगातार पाँच वडा कार्यालयमा जन्मदर्ताको लागि जाँदा पनि विभिन्न बाहना देखाएर स्थानीय सरकार पन्छिएको उनले बताउँछन्। 'इन्टरनेट र कर्मचारीको समस्या दर्शाएर कामलाई टार्न खोजियाे,' उनले भने।

उनका अनुसार जन्मदर्ता गराउँन पाँच दिनसम्म वडामा गइरहनु बिडम्बना हाे। सामान्य कामका लागि झण्डै हप्तादिनसम्म नागरिकलाई सेवा नदिनु गैरजिम्मेवारीपनकाे हद हाे।

'पाँच मिनेटमा हुने जन्मदर्ताको कामका लागि पाँच दिन लगाउँदा नि काम नबन्नु गैरजिम्मेवारीपनकाे पराकाष्ठा हाे,' उनले भने,'साेझा नागरिकप्रति वडा सरकारकाे कुनै चासाे देखिएन।'

जन्मदर्ताको लागि स्थानीय पञ्जिकाधिकारी वडा सचिवको काम भएको वडाध्यक्ष जयबहादुर रावलले बताए। 'वडा सचिवले गर्ने कामसँग अध्यक्षको सम्बन्ध हुँदैन,' उनले भने, 'पाँच दिनसम्म जन्मदर्ता नहुनु दुःखद पक्ष हाे।'

उनले थपे,'जन्मदर्ताको काम एकै दिनमा हुन्छ। किन हुन सकेन म वडा सचिवसँग राम्रोसँग बुझ्छु।'

उनकाअनुसार इन्टरनेटमा समस्या भएमा जन्मदर्ता गराउन समस्या हुने गरेको छ। पहिले हातले लेखेर जन्मदर्ता हुने गरेकोमा अहिले अनलाइनमा काम हुने भएकाले जन्मदर्ता गराउन समस्या भएको छ।

कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका गोबिन्द आचार्यको जबाफ पनि अध्यक्ष रावलको जस्तै छ।  उनले पनि अनलाइनकै समस्यालाई दर्शाए। 

वडा सचिव रामलाल पाण्डेले कामकाजका लागि नमराज रोकायालाई जिम्मेवारी दिएको बताए। जिम्मेवारी पाएका नमराज रोकायाकाअनुसार इन्टरनेटले काम नगरेको र काम विशेषले कार्यालय बाहिर रहेको जवाफ दिएका छन्।

प्रकाशित मिति: : 2022-03-25 08:33:00

प्रतिकृया दिनुहोस्