स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने भएको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छपाउने गरी तयारी थालेको हो।
अन्तिम मतदातामा करिब एक करोड ७७ लाख मतदाता हुने अनुमान आयोगले गरेको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने बताए।
अन्तिम मतदाता नामावलीको करिब १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्ने उनको भनाइ छ। 'विभिन्न कारणको जोखिमलाई मध्यनजर गरेर केही बढी छाप्नुपर्ने हुन्छ। त्यसैले करिब दुई करोड मतपत्र छाप्छौं,' सहायक प्रवक्ता अर्यालले भने।
त्यसका लागि जनक शिक्षा सामाग्री केन्द्रसँग छलफल चलिरहेको बताए। 'जनक शिक्षा सामाग्री केन्द्रसँग मतपत्र छपाई गर्नेबारे छलफल भइरहेको छ। जनक शिक्षाले छाप्न नसकेमा अर्को विकल्प पनि हुनसक्छ,' उनले भने।