प्रहरी प्रशासनले षडयन्त्र गरेको भन्दै एमालेले गर्‍याे विशाल प्रदर्शन

रौतहट जिल्लामा पछिल्लो समय स्थानीय प्रशासनले विभिन्न षडयन्त्र गरी निर्दोषलाई फसाउने काम गरेको भन्दै नेकपा एमाले रौतहट जिल्ला कमिटीले विशाल प्रदर्शन गरेको छ।

गठबन्धन सरकारको इसारामा रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) र प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा झुठा मुद्दा, गाली बेइज्जती तथा बदनाम गर्ने कार्य भइरहेकाे भन्दै एमालेले जिल्लाको मध्यभाग गरुडामा मङ्गलबार हजारौँको संख्यामा प्रदर्शन गरेको हो।

एसपी र प्रजिअकाे राजिनामा माग्दै अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा निकालिएको शान्तिपूर्ण प्रदर्शनमा केन्द्रीय तथा प्रदेश कमिटीसहितका नेता कार्यकर्ता उपस्थित थिए। एमाले पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन गरुडाको परिक्रमा गरी ईलाका प्रहरी कार्यालय गरुडा अगाडि नारा, जुलुस तथा कोणसभा गरी अन्त्य भएको थियो।

सो क्रममा प्रदर्शनकारीहरुले निर्दोषलाई फसाउन पाईदैन, पक्षपाती सरकार/प्रशासन चाहिँदैन, पक्षपाती सीडीओलाई बर्खास्त गर, निष्पक्ष निर्वाचनको वातावरण तयार गर, षड्यन्त्रकारी प्रहरी प्रशासन मुर्दावाद, षड्यन्त्रकारी सिडियोलाई कारवाही गर, हर्षाहा सवारी दुर्घाटनाको उच्चस्तरीय छानबिन गरलगायतका नाराहरू लगायका थिए।

कोणसभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष त्रिभुवन साहले दोषी उम्काएर निर्दोषलाई फसाउने कार्य तत्काल रोक्न चेतावनी दिए। आज शान्तिपूर्ण प्रर्दशन गरिएको भए पनि प्रहरी प्रशासनले गठबन्धन सरकारको ईशारामा झालझेल र षडयन्त्र गर्ने कार्य बन्द नगरे जनताले जिल्ला भर प्रतिकार गर्ने र अनिश्चितकालको लागि बन्द हडताल गर्ने उनले बताए। प्रशासनले शान्ति सुव्यवस्था कायम गर्नुको सट्टा जनतालाई झनै भयवित बनाएको बताउँदै अध्यक्ष साहले पाँच दलीय गठबन्धनको सरकारको योजनामा प्रहरी प्रशासन चल्नु शर्मनाक परिवेश भएको जीकिर गरे।

प्रकाशित मिति: : 2022-03-22 19:29:00

प्रतिकृया दिनुहोस्