हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको झाप्पामा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ।
भौगोलिक कठिनाइले स्वास्थ्य संस्थाबाट टाढा रहेका, स्वास्थ्य संस्था पुग्न दुई–तीन घण्टा हिँड्नु पर्ने, स्वास्थ्य सेवाबाट बञ्चित रहेका नागरिकलाई लक्षित गर्दै नगरपालिकाले झाप्पामा शहरी स्वास्थ्य केन्द्र विस्तार गरेको हो।
स्वास्थ्यचौकी सरहको स्वास्थ्य सेवा दिनेगरी औषधिसहित एक जना अहेब र एक जना अनमीको व्यवस्था गरेर केन्द्र स्थापना गरेको नगर स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए। शहरी स्वास्थ्य केन्द्र हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले शुक्रबार उद्घाटन गरेका हुन्। ११ वडा रहेको नगरपालिकामा स्थापना गरिएको यो चौँथो शहरी स्वास्थ्य केन्द्र हो।