विद्यालय व्यवस्थापन समिति चयन निर्वाचनमा दलहरूको प्यानलै खडा

ऐसेलुखर्क गाउँपालिकास्थित त्रिभुवन उच्च माविको व्यवस्थापन समिति चयनका लागि शुक्रबार भएको निर्वाचनमा राजनीतिक दलहरूले प्यानलनै खडा गरेका छन्। जसका कारण विद्यालय व्यवस्थापन चयनको निर्वाचन राजनीतिक दलको निर्वाचन जस्तै बनेको थियो।

निर्वाचनमा सत्तारुढ गठबन्धन दल एकातिर र नेकपा एमालेले प्यानल नै खडा गरेका थिए। शैक्षिक संस्थामा पकड जमाउने मनसायले गठबन्धन दलले सरोज राजभण्डारी र एमालेले टेकेन्द्र राजभण्डारीको नेतृत्वमा प्यानल बनाएका थिए। 

निर्वाचनबाट एमालेका उम्मेदवार टेकेन्द्रको प्यानल विजयी भयो। निर्वाचनमा तीन सय ५४ मत खसेकामा टेकेन्द्रले दुई सय २२ मत र प्रतिद्वन्द्वी सरोजले एक सय १७ मत प्राप्त गरे। १७ मत बदर भएको छ। टेकेन्द्रको प्यानलबाट श्रीकुमार राईले दुई सय १५, डोल्मा तामाङले दुई सय ३३ र सरिता श्रेष्ठले दुई सय दुई मत पाएका छन्। यस्तै, सरोजको प्यानलबाट मनकुमारी तामाङले एक सय ४२, होमबहादुर तामाङले एक सय १३ र पुण्यकुमारी वनले एक सय सात मत ल्याएको निर्वाचन समितिले जनाएको छ। 

गठबन्धन दल र एमालेले व्यवस्थापन समितिको निर्वाचनलाई आसन्न स्थानीय तहको निर्वाचनका लागि शक्ती परीक्षणका रुपमा समेत लिएका छन। 

प्रकाशित मिति: : 2022-03-19 13:59:00

प्रतिकृया दिनुहोस्