होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौंमा १३०० बढि ट्राफिक प्रहरी खटाएर कडाईका साथ चेकजाँच गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ।
दुर्घटना रहित होली बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरेको हो।
महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यका विभिन्न ६८ स्थानहरुमा चेक प्वाइन्टहरु राखेर बिहानदेखि नै कडा चेकजाँचको व्यवस्था मिलाएको थियो।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीका अनुसार होलीमा सबै जना फेस्टिभ मुडमा हुने, हो-हल्ला र नसालु पदार्थको सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने हुनाले बिहानदेखि नै
चेकप्वाइन्ट राखी चेकिङ्लाई कडा पारिएको हो।
ट्राफिक व्यवस्थापन कडा गरिएको कारण काठमाडौंमा कुनै अप्रिय घटना नभएको उनले बताए।
'बिहानदेखि बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने १०६ जनालाई कारबाही गरेको छ' एसएसपी जोशीले भने, 'बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकहरुलाई कारबाही र होल्ड गरिएको छ।'
उच्छ्रिङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिव्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि मोटरसाईकल हुईक्याउने, मोटरसाईकलमा हेल्मेट नलगाउने, मोटरसाईकलमा तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरू रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठुलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउनेमाथि विशेष निगरानी बढाई कडाईका साथ कारबाही गरिएको महाशाखाले बताएको छ।