दाङको बंगलाचुली गाउँपालिका क्षेत्रमा रहेका सिमेन्ट उद्योगहरुका चुनढुङ्गा खानी क्षेत्रमा उत्खनन गर्न रोक लगाएको ३ महिनापछि खोल्ने सहमति भएको छ।
दैनिक सयौँको संख्यामा घोराही हुँदै बंगलाचुलीका खानी क्षेत्रमा पुग्ने टिपरहरुले सडक भत्काउनुका साथै मानव स्वास्थ्यमा असर पारेको भन्दै उत्खनन गर्न रोक लगाइएको थियो।
पुस १ गतेबाट अनिश्चितकालका लागि उत्खनन गर्न रोक लगाइएकोमा हिजो (मंगलबार) बसेको सर्वपक्षीय बैठकले यही चैत ७ गतेबाट चुनढुङ्गा उत्खनन गर्ने र ढुवानी गर्न दिने सहमति गरेको छ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले चुनढुङ्गा उत्खननकाे काम सुचारु गर्ने सहमति गरेको हो।
बंगलाचुली गाउँपालिकाका प्रतिनिधिहरु, घोराही उपमहानगरपालिकाका प्रतिनिधि, सिमेन्ट उद्योगका प्रतिनिधि, टिपर व्यवसायीहरु र नागरिकहरुको बैठकले टिप्परले चुनढुङ्गा ढुवानी गर्दा सडक र वातावरणमा पारेको असरलाई निवारण गर्ने गरी ढुवानी गर्ने र चुन चुनढुङ्गा खानी संचालन गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।
बैठकले मदन भण्डारी मार्गदेखि चुनढुङ्गा खानीसम्म जोड्ने ४ किलोमिटर पहुँच मार्ग सिमेन्ट उद्योगले फुटपाथसहित छिटो कालोपत्रे गर्ने, बंगलाचुली गाउँपालिकाले सिफारिस गरेको आधारमा घोराही बंगलाचुली सडकका अत्यावश्यक स्थानमध्ये बढीमा ६०० मिटर सडक कालोपत्रे गर्ने निर्णय गरेको छ।
यस्तै बैठकले सिमेन्ट उद्योगहरुले धुलो नियन्त्रणका लागि अन्य आवश्यक उपायहरु अवलम्बन गर्ने र त्यसको उचित कार्यान्वयन गर्ने सहमति गरेको छ। प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार यस अघि भएका सम्झौताहरुको तत्काल कार्यान्वयन गर्ने पनि बैठकले निर्णय गरेको छ।
बंगलाचुली गाउँपालिकाको वडा नं १ र ४ मा पर्ने तापा, थारा क्षेत्र र ६ मा पर्ने तिमिले क्षेत्रमा सिमेन्ट उद्योगहरुले चुनढुङ्गा उत्खनन गर्दै आएका छन्। यस क्षेत्रबाट घोराही सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगले चुनढुङ्गा उत्खनन् गर्ने गर्छन।