पत्रकार तथा लेखक मोहन मैनाली त्यस्तो गाउँमा जन्मे। जुन ठाउँबाट मोटरगाडी हेर्न ४ दिन पैदल हिड्नुपथ्यो।
तेह्रथुमको विकट गाउँमा जन्मेका मैनालीलाई गाउँमा त्यतिबेला मोटरबाटो नपुगेको र मोटरगाडी चढ्न नपाएकोमा कुनै पछुतो छैन।
मोटर चढेर बेगसँग हुँइकिन नपाए पनि मैनालीले उच्च शिक्षाको राजमार्गमा भने मज्जासँग दौडिन पाए।
‘म जन्मेको गाउँबाट ४ दिन हिडेर मोटर देख्न पाउथ्यौं। तर, मलाई घाटा भएन। पहिला त शिक्षा चाहियो, स्वास्थ्य चाहियो। बाटो, मोटर त शिक्षा भएपछि बनि हाल्छ,’ शनिबार पोखरामा मोहन मेनालीद्वारा अनुदित कृति आकाशमुखी संवादमा मैनालीले सुनाए।
फरक फरक लेखकका निबन्धको अनुवाद संग्रह आकाशमुखीको पोखरा संवादमा मैनालीसँग आकाशमुखी संवाद गर्न जुटेका थिए अर्का लेखक दीपक पराजुली।
आकाशमुखीमा अनुदीत पहिलो निबन्ध शिक्षाको सार बारे गफिदै मैनालीले आफ्नो शिक्षा प्राप्तिबारेको अनुभूति सुनाएका थिए।
मोटर हेर्न ४ दिन पैदल हिड्नु परे पनि मैनालीलाई शिक्षा लिन भने त्यति कठिन परिश्रम गर्नु परेन।
घर नजिकैको स्कुलमा घण्टी बजेपछि हिडे पनि पुग्थे रे! मैनाली। तर, घर नजिकैको स्कुल पढ्न पाए पनि राम्रो शिक्षा पाउन नसकेको जस्तो लाग्छ उनलाई।
‘राम्रो शिक्षा पाइनँ जस्तो लाग्छ मलाई। ब्याचलर सकेर पत्रकारिता सुरु गरेपछि मात्रै मैले बल्ल लाइटको कलर थाहा पाए । परीक्षामा अंग्रेजीमा निबन्ध लेख्न सकिनँ,’ उनले सुनाए, ‘७ क्लाससम्म म सधैं फस्र्ट आएँ। त्यसपछि पनि म सधै थर्ड। मेरो यस्तो हालत थियो भने अरुको कस्तो होला?’
यद्यपि, युनिभर्सिटीले दिन नसकेको शिक्षा इनफर्मल्लि आफूले पनि लिन सक्ने उनी मान्छन्।
आइए फस्र्ट इयरमा ४ वटा एसबिओ सेन्टेन्स मिलाउन नसकेर अर्कैको सार्नुपरेपछि भने उनलाई अंग्रेजी जान्नुपर्छ भन्ने लाग्यो। दाईको सहयोग लिएर अंग्रेजी जान्ने भएको उनको अनुभव छ।
मर्दै गएको पठन संस्कृतिप्रति उनको गुनासो छ। भर्जिनाया उल्फको महिला शसक्तिकरण निबन्ध, शिक्षा र स्वतन्त्र प्राप्तिबारेमा लेखिएका फरक फरक लेखकका निबन्धको अनुवाद आकाशमुखी बुकहिलले बजारमा ल्याएको हो।
आकाशमुखी संवादमा स्वतन्त्रता प्राप्ति र शिक्षाको अधिकार लगायतका आकाशमुखीका निबन्धमाथि संवाद गरिएको थियो। लेखक तथा पोखरा महानगरको पहिलो स्वतन्त्र उम्मेद्वारी दिएका अटेरी अभियानका गनेस पौडेलले पनि आकाशमुखीबार बोलेका थिए।