दमौली आगलागी घटनाको हप्ता दिन हुन लाग्दा पनि क्षतिको यकिन विवरण आउन सकेको छैन्। गत आईतबार जिल्लाको व्यास नगरपालिका–४ भोर्लेटार चोकस्थित भुपाल हार्डवयरको गोदामबाट आगलागी सुरु भएको थियो।
विहान १० बजेतिर आगलागी सुरु भएकोमा करिब पाँच घण्टामा नियन्त्रणमा लिईएको थियो। आगलागीले हार्डवयरको गोदाम पूर्ण रुपमा क्षति भएको छ।
अन्य नौ घर, तीन टहरा र दुई सटरमा पनि आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। आगलागीबाट भएको क्षतिको यकिन विवरण भने अझै आउन सकेको छैन्।
आगलागीबाट भएको क्षति संकलन गर्न व्यास नगरपालिकाले समिति गठन गरेको छ। नगरपालिकाका घरनक्सा शाखाका प्रमुख इन्जिनियर अमृत केसीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कुमार गुरुङ र उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सचिव माधव न्यौपाने सदस्य तीन सदस्य समिति गठन भएको छ।
समितिलाई २६ फागुन भित्र नगरपालिकाले क्षतिको विवरण पेश गर्ने समयावधि तोकेको भएपनि सोमबारसम्म बल्ल प्रतिवेदन तयार हुने समिति संयोजक अमृत केसीले बताए। ‘हामीले रिपोर्ट तयार पार्दैछौँ। सोमबारसम्म तयार पारेर बुझाउँछौँ’, उनले अगाडी थप्दै भने, ‘यो प्रारम्भिक रिपोर्ट हुनेछ। के कति क्षति भएको छ विस्तृत रिपोर्ट तयार पार्नलाई त समय लाग्छ।’ प्रारम्भिक रिपोर्टले मोटामोटी कति क्षति भएको खुलाउने उनी बताउँछन्। ‘अहिले उहाँहरुको भनाई अनुसार नै हामीले क्षतिको विवरण तयार पार्ने हो। ठ्याक्कै कति क्षति भएको हो सामान कति जलेका छन्। स्टक सामान कति थिए कति गए भन्ने पत्ता लगाउन सायद अर्को समिति बन्छ होला’, उनले बताए।
आगलागीको कारणबारे पनि अझै खुल्न सकेको छैन्। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए। ‘एक्कासी आगो लागेकाले सर्ट भएर हो कि भन्ने अनुमान हो। कारण खुल्न सकेको छैन्’, उनले भने। खास कारण पत्ता लगाउन अनुसन्धान भईरहेको उनले बताए।
जिल्लाको व्यास नगरपालिकासँगै छिमेकी जिल्ला कास्की, लमजुङ र चितवनका छ वटा दमकल प्रयोग गर्दा पनि आगो नियन्त्रण आउन मुस्किल भएपछि सिम्रिक एयरको होलिकोप्टर प्रयोग गरिएको थियो। हेलिकोप्टरले साहयतामा आगलागी नियन्त्रणमा लिईएको हो। साँघुरो ठाउँ भएकाले आगलागी नियन्त्रणमा लिनलाई दमकलको प्रयोग गर्न समेत अफ्ठ्यारो परेको थियो। हेलिकोप्टर मार्फत आगलागी नियन्त्रणमा आएपछि जस लिनलाई यहाँका नेताहरुको होडबाजी समेत चलेको थियो।