राजनीतिक दलहरु आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनतर्फ केन्द्रीत हुन थालेका छन्।
नेपालको संवैधानिक व्यवस्थाअनुसार प्रत्येक ५ वर्षमा स्थानीय तहको निर्वाचन हुने गर्दछ। साेही व्यवस्थाअनुसार राजनीतिक दलहरु निर्वाचनमा केन्द्रीत हुन थालेका हुन्।
यसअघि २०७४ सालमा भएको स्थानीय तहकाे निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ५ मा सकिँदैछ। त्यसअघि अर्को पाँच वर्षे कार्यकालका लागि जनप्रतिनिधि चयन गर्न स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ। त्यसका लागि दलहरुले आफ्नो जित सुनिश्चित गर्न तयारीलाई तीव्रता दिएका छन्।
केही समय अघिसम्म स्थानीय निर्वाचन तोकिएकै समयमा होला की नहोला भन्ने दलहरुमा द्विविधा थियो। तर अहिले स्थानीय चुनावको मिति घोषणा भएसँगै दलहरुले आफ्ना चुनावी एजेण्डासहित तयारीलाई तीव्रता दिएका हुन्।
स्थानीय निर्वाचनलाई नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाको रुपमा मात्र नभएर स्थानीय तहलाई विकासको बाटोमा लैजाने मार्गदर्शनको रुपमा हेरिने गरिएको छ।
स्थानीय तहको विकास निर्वाचनपछि आउने नेतृत्वमा भर पर्ने गरेको छ। विभिन्न योजना बनाउने र कार्यान्वयन गर्ने नेतृत्व छनौट हुने भएकाले स्थानीय तहको निर्वाचनलाई विशेष महत्वका साथ हेर्ने गरिएको छ।
निर्वाचनकै लागि सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो पार्टीलाई जिताउन भन्दै ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गरेको छ। कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अब हरेक टोलटोलमा नेपाली कांग्रेसको जति सुनिश्चित हुने गरी प्रचारप्रसारमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।
त्यस्तै प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेकपा एमालेले पनि आफ्नो तयारीलाई तीव्रता मात्रै दिएकाे छैनन्, पार्टी अध्यक्ष केपी शर्मा ओली देश दौडाहमा नै लागेका छन्।
स्थानीय तहको चुनावी प्रचारकै अभियानमा रहेका अध्यक्ष ओलीले आफ्नो पार्टीले आउँदो स्थानीय तहको निवार्चनमा सहज जित निकाल्ने भन्दै आफ्ना कार्यकर्ताहरुलाई एक जुट भएर निवार्चनको तयारीमा लाग्न निर्देशन समेत दिएका छन्।
मधेश केन्द्रीत दलहरुले पनि आफ्ना सम्पूर्ण चुनावी तयारीलाई तीव्रता दिएका छन्।
यता, राजनीतिक विश्लेषकहरूले भने नेपाली राजनीतिमा देश र जनताको हितभन्दा पनि पार्टीगत र व्यक्तिगत स्वार्थमा नेतृत्व रुमलिने गरेको बताउँछन्।
आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने सबै राजनीतिक दलहरुले जित आफ्नो पक्षमा हुने दाबी गरिरहेका छन्। तर राजनीतिक दलहरुले आ-आफ्नो स्वार्थलाई भन्दा पनि देश र जनताको हितमा हुने गरी चुनावी तयारीमा लाग्न आवश्यक देखिन्छ।