मध्य फागुन भएपनि पश्चिमको चिसो सिरेटोले औषत मानिस बिहान १० बजेभन्दा अघि काममा निस्कँदैनन्। तर, भारतमा केही काम नपाएर बेरोजगार बनेका मोहम्मद असरफुललाई चिसोको वास्तै हुँदैन।
असरफुल बुधबार बिहानै पूर्व-पश्चिम राजमार्गको सडक किनारमा फालिएका प्लाष्टिक र टिनका बोतल सङ्कलन गरेर बोरामा खाँद्दै गर्दा भेटिए। ‘सरकारले रोजगार दिँदैन। ९ जनाको परिवार छ। तिनलाई बिहान बेलुका खुवाउनै पर्यो’, मोरङको कानेपोखरी बजारबाट थारै पूर्व पट्टीको वरको रुखमुनि बसेर प्लाष्टिकका थोत्रा बोतल ठूलो बोरामा हाल्दै गरेका भारतीय नागरिक मोहम्मद असरफूलले भने।
असरफूल आफ्ना तीन सन्तानका साथ विगत ३ वर्षयता पूर्व-पश्चिम राजमार्गको दुईतर्फ किनारमा फालिएका थोत्रा बोतल सङ्कलन गरी बिक्री गरिरहेका छन्। उनी र उनको परिवारका सदस्यहरूको मुख्य आय स्रोत नै यही हो।
पूर्व-पश्चिम राजमार्गमा सयौंको सङ्ख्यामा सार्वजनिक यातायातका गाडी गुड्ने गर्छन्। बसमा सवार यात्रुले पानी पिएर जथाभावी फालेका प्लाष्टिकका बोतल, आल्मुनियममा प्याक पेय पदार्थका बट्टा सङ्कलन गर्नु उनीहरूको दैनिकी हो।
यात्रुहरूले मानव बस्ती नभएको (जङ्गल) राजमार्ग क्षेत्रमा अझ बढी बोतल फाल्ने गरेका छन्। त्यसैले उनीहरू क्षेत्र छुट्ट्याएर प्लाष्टिकका बोतल भेला गर्ने गर्छन्।
६६ वर्षीय असरफुलका छोरा आमीदूलले भने, ‘चिसाङ खोला पूर्वदेखि डाँस खोला पश्चिमसम्म हामी सङ्कलन गर्छौँ। डाँस पूर्व र चिसाङ पश्चिम सङ्कलन गर्ने अरु साथीहरू छन्। उनीहरू पश्चिम वंगालको बागडुग्रा, सूर्यनगरका स्थायीबासी हुन्।’
असरफुलको परिवार मात्र होइन, उनका बुवासमेत नेपालमा कवाडी सङ्कलनको काम गर्थे। बुवाकै लय पछ्याएका असरफुलले उमेर छउन्जेल साइकलमा घुमेर कवाडी सङ्कलन गरे। तर शरीरमा बल घट्दै गएपछि उनले सडक किनारमा कवाडी सङ्कलन गर्ने काम सुरु गरेका हुन्।
पूर्व-पश्चिम राजमार्गको जिरिखिम्ती पश्चिम बोतल भेला गरेर गाडीमा लोड गर्ने तयारी अवस्थामा राखिएको बाेरा
‘सडकमा कवाडी सङ्कलन गर्दा खर्च छैन। दैनिक ४ जनाले १६/१७ सय कमाउँछौं’, उनी सुनाउँछन्।
आमीदूलकी पत्नी जमसराई पनि श्रीमान र ससुरासँगै बोतल सङ्कलनमा हिंड्छिन्। ‘जना/दुई जनाले काम गर्न गाह्रो छ। त्यसैले परिवार नै हिंड्छौं’, जमसराईले भनिन्।
आमीदूलका भाइ खाना र खाजाको प्रबन्ध मिलाउछन्। एक पटक नेपाल आउँदा उनीहरू महिना दिनसम्म नेपाल नै बसेर काम गर्छन्। आमीदूलले भने, ‘एक महिनामा ४ जनाले ३० हजार भारतीय रुपैयाँ लिएर जान्छौं।’
प्लाष्टिकका थोत्रा बोतललाई रिसाइक्लिन गर्ने उद्योग झापाको विर्तामोडमा खुलेपछि उनीहरू व्यापारसमेत खुबै फस्टाएको छ।
अर्को समूहका मोहम्मद इमरान पनि उर्लाबारीको कृषि बजार नजिकै रुखमुनि प्लाष्टिक बोतल ठूलो बोरामा हाल्दै गरेको भेटिए। पश्चिम बङ्गालको नक्सलबाट गाउँका बालबालिका लिएर प्लाष्टिक बोतल सङ्कलनमा आएका इमरानले भने, ‘गाउँमा केही काम छैन। छोराछोरी स्कुल पनि जाँदैनन्। त्यसैले बालबालिका लिएर आएको हुँ।’
दैनिक २ हजारमाथिको बाेतल सङ्कलन गर्ने गरेको उनले बताए। भारतमा बाेतल सङ्कलनको काम पाइँदैन भन्ने जिज्ञाषामा उनको जवाफ थियो, ‘नेपालमा जस्तो धनी मान्छे भारतमा छैनन्। भारतमा बाेतलको पानी गाउँको मान्छेले खान सक्दैन।’
संघसंस्थाको भेला, सभा, गोष्ठीमा समेत बोतलको पानी खुब चल्ने मेसो पाइसकेका छन्, इमरमनले। भन्छन्, ‘हामी विनातलब फोहोर सङ्कलन गरेर लान्छौं। कार्यक्रम गर्नेलाई पनि फाइदा छ।’
पानी प्याक भएका प्लाष्टिकका थोत्रा बोतल प्रतिकेजी २० रुपैयाँ, पेय पदार्थका २५ रुपैयाँ र आल्मुनियमकाे प्रतिकेजी १ सय रुपैयाँमा बिक्री हुने सङ्कलकहरूको भनाई छ।