विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरुबाट नलिएको दावी गरेको छ।
कलेजले प्रेस विज्ञप्ति जारी गर्दै आयोगले तोकेको शिर्षकहरुमा तोकिएको भन्दा बढी शुल्क माग नगरिएको र नलिएको जनाएको हो।
एमबीबीएस अध्ययन गर्नुपर्ने केही विद्यार्थीहरुले कलेजको वारेमा कलोकल्पित र भ्रामक कुरा उल्लेख गरी बिभिन्न सञ्चारमाध्यममा अफवाह फैलाएको भन्दै कलेजले यसमा कुनै सत्यता नरहेको दावी गरेको छ।
‘यस कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शिर्षकहरुमा तोकिएको भन्दा कुनै बढी शुल्क माग नगरिएको र नलिएको व्यहोरा जानकारी गराउँछौं,’ कलेजका प्राचार्य डा.रामहरी घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको भ्रामक सूचना प्रवाह नगर्न विद्यार्थीहरुलाई आग्रह गर्दछौ र यस्तो कपोकल्पित कुरामा विश्वास नगर्नुहुँन सबैमा अनुरोध छ।’
नोबेल मेडिकल कलेज, चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र शिक्षा मन्त्रालयबीच २०७८ पुस ३० गते भएको लिखित सहमतिलाई अक्षरस पालना गर्न कलेज प्रतिवद्ध रहेको नोबेलले जनाएको छ। त्यस्तै, विद्यार्थीहरुलाई कलेजमा उपस्थित भई अध्ययन गर्न कुनै वाधा व्यवधान नरहेको पनि नोबेलले जानकारी दिएको छ।
हालसम्म नियमित अध्ययन प्रकृयामा समावेश नभएका विद्यार्थीहरुलाई यथासक्य चाडो कलेजको सम्पर्कमा आएर अध्ययनमा सहभागी हुने वातावरण मिलाइदिन नोबेलले चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयलाई अपिल पनि गरेको छ।