राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन सुचकमा जुम्लाको गुठीचौर गाउँपालिकालाई अब्बल ठहर्याएको छ। स्थानीय तहको वार्षिक कार्य सम्पादनमा जुम्लाको गुठीचौरले सबैभन्दा बढी अंक ल्याएर पहिलो हुन सफल भएको हो।
आयोगले गरेको कार्य सम्पादन सुचकमा गुठीचौरले जिल्लाका स्थानीय तहहरुमध्ये सबैभन्दा बढी ६५.०२ अंक ल्याइ पहिलो भएको हो।
पालिकाले आम नागरिकले पाउने सेवादेखि लिएर विकास निर्माण, धार्मिक पर्यटन र आर्थिक आयआर्जनका कार्यमा पारदर्शी एंव निष्पक्ष काम गरेको कुराको मुल्याङ्कन गरी आयोगले गुठीचौरलाई उत्कृष्ठ ठानेको हो।
पालिका कार्य सम्पादन मात्रै होइन पारर्दशीतामा समेत अब्बल ठहरिएको छ। ‘हामीले हरेका क्षेत्रका आयोजना निर्माण गर्दा र गरिसकेपछि जनताको बीचमा भएको खर्चको विल भर्पाई देखाउने गरेका छौं’, गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले भने, ‘फाट्टफुट्ट आयोजना बाहेक अरु सबैमा पारदर्शिता देखाउन सकिएकै कारण हामीले यो उपलब्धि हात पारेका छौं।’
संघीयता कार्यान्वयन पछि भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका भण्डारी लगायतको टिमले झारज्वाला घट्ट लिफ्ट ईरिगेशन र विगारे लिफ्ट ईरिगेशन, कर्णालीमै पहिलो पटक पालिकाको लगानीमा रेडियो गुठीचौरको स्थापना तथा संञ्चालन गरेको छ।
‘हामीले आम गुठीचौर बासीको स्वास्थ्य सुधारको लागि औषधि खरिद गरेर वितरण गर्दै आएका छौं’, अध्यक्ष भण्डारीले भने, ‘गरिब जनतालाई औषधि उपचारको व्यवस्था, ४० देखि ५९ वर्ष सम्मका एकल पुरुषत तथा महिलालाई भता वितरण गर्दा जनताले राहत महसुस गरिरहेका छन्।’
कृषि उत्पादनलाई विश्व बजारमा पुर्याउन र त्यसको ब्रान्ड कायम गर्न गुठीचौर गाउँपालिकालाई पूर्ण प्रांगरिक बनाउने प्रयासले सार्थकता पाउँदै गएको पालिकाका प्रमुख प्रशाशकीय अधिकृत मदन देवकोटाले बताए।
‘हामीले गुठीचौरमा कृषि क्षेत्रमा पकेट जोन तथा व्लक स्थापना गरी सांञ्चालनमा रहेका ठाउँहरुमा हानिकारक विषादी व्युटाकुलरको निषेध गरेका छौं’, उनले भने, ‘हाम्रो प्रयास सफल हुनेमा म निकै आशावादी छु।’
किसानलाई व्यावसायिक बनाउन र उच्च गुणस्तरको उत्पादनका लागि फुजि स्याउको बगैंचा निर्माण गर्ने किसानलाई अनुदान दिन थालिएको छ। विकास निर्णमाणका साथै वितरणमुखी कार्यको समेत आवश्यकता रहेको भन्दै अध्यक्ष भण्डारीले गरिबीको रेखा मुनि रहेका जनतालाई स्वास्थ्य विमाको व्यास्था समेत गरिएको बताए।
उनले भने, ‘गरिबसँग अध्यक्ष कार्यक्रम अन्तर्गत गरिब जनतालाई उद्यमी बनाउनको लागि बाख्रा वितरण गर्दा त्यसको प्रभावकारिता झनै बढेको छ।’
कृषि क्षेत्रमा खेतीपाती मात्रै नभएर पालिकाले पशुपालनलाई पनि उत्तिकै ध्यान दिएको छ। गुठीचौर जुम्ला बजारमा सबैभन्दा धेरै दुत निर्यात गर्ने एकमात्र पालिका हो।
यही तथ्यलाई आत्मसात गर्दै पालिकाले किसानको सम्मानको लागि भैंसी प्रवर्दन कार्यक्रम अन्तर्गत ५० ओटा भैंसी समेत वितरण गरेको छ। जसले भैंसी पालक किसानलाई थप उत्साहित बनाएको प्रशासकीय अधिकृत देवकोटाले थपे।
पालिकाले साधारण र प्राविधिक शिक्षाको स्तर उठाउन र निम्म आय भएका परिवारको शिक्षामा पहुँच वृद्धि गर्नका लागि प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्ने छात्र, छात्रालाई छात्रवृत्तिको व्यवस्था गरेको छ।
‘अब गुठीचौर शिक्षा क्षेत्रको हब बन्नेछ। शिक्षामा एउटा निश्चित वर्गको मात्रै हालीमुहाली हुने परिपाटीलाई अन्त्य गर्न हामीले अभियान थालिसकेका छौं’, अध्यक्ष भण्डारीले थपे, ‘प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेलाई छात्रवृत्ति दिनु पहिलो खुट्किलो हो। अब यहाँको शिक्षाले निसन्देह शिखर चड्नेछ।’
गाउँपालिकाले स्कुलहरुमा अत्याधुनिक भवन निर्माण गर्नेदेखि लिएर कक्षा कोठा व्यवस्थापनसम्मका कार्य गर्दै आएको छ। जसले भविष्यमा शिक्षा क्षेत्र र दक्ष जनशक्तिको अभाव हुन दिने छैन। प्रत्येक विद्यलयमा भुकम्प प्रतिरोधि संरचनाको विकास गर्न सक्नु शिक्षा क्षेत्रको भविष्य प्रतिको संवेदनशीलता हो।
गुठिचौर गाउँपालिकाले नागरिकको स्वास्थ्यमा समेत उत्तिकै ध्यान दिँदै आइरहेको छ। पालिकामा रहेका हरेक स्वास्थ्य संस्थामा एसी जडान गरिएको छ।
‘कोभिड –१९ बाट आम जनातालाई सुरक्षा दिन ५ वेडको अक्सिजन सहित कोभिड अस्पतालको स्थानापना गर्नु हाम्रो अर्काे सफतला हो’, अध्यक्ष भण्डारीले भने, ‘अस्पताल निर्माण हुनुले कोभिडको बेला मात्रै नभएर आगामी दिनमा समेत नागरिकको स्वास्थ्यमा उल्लेख्य सुधार गर्नेछ भने नागरिकको आयु बढाउन समेत यसले मद्दत गर्नेछ।’
विकास निर्माणमा गुठीचौर गाउँपालिकाले उदाहरणीय काम गर्न सकेकै कारण प्रत्येक बस्तीमा मोटर बाटो पुगेको छ भने हरेका घरमा धारोको व्यवस्था गर्न सफल भएको छ। त्यतिमात्र नभई उज्यालो गाउँपालिका कार्यक्रम अन्तर्गत सबै घर र बस्तीहरुमा विद्युतिकरण गर्न सकिएको हो।
‘गुठीचौर अथाह पर्यटकीय सम्भावना भएको पालिका हो। गुठीचौर पाटन जिल्लाको सबैभन्दा फराकिलो फाँट हो। जहाँ हरेक वर्ष हजारौं पर्यटकको घुइँचो लाग्ने गरेको छ’ , उनले थपे, ‘उक्त पर्यटकीय क्षेत्रको विकास र थप प्रवर्द्धनको लागि पर्यटकीय सडक बिस्तार गरिएको छ। यिनै गतिविधिले हामीलाई कार्य सम्पादनमा अब्बल ठहर्याएको छ।’