अमेरिकाको मेरिल्याण्ड संसदमा 'दशै विधेयक' र 'सागर घिमिरे एक्ट'माथि सुनुवाइ हुदैँ 

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

अमेरिकाको मेरिल्याण्ड राज्य संसदमा बिहीबार नेपाल र नेपालीसँग साइनो जोडिएका दुई विधेयकहरूमाथि छलफल हुदैछ। तल्लो सदन हाउस अफ एसेम्बलीमा सागर घिमिरे एक्टमाथि सुनुवाई हुदैछ भने माथिल्लो सदन सिनेटमा दशै विधेयकमाथि सुनुवाइ हुदैछ। दुबै विधेयक नेपाली मूलका विधायक डा. ह्यारी भण्डारीको प्रायोजन गरेका हुन्। 

तल्लो सदनको न्यायिक समितिमा अमेरिकी पूर्वी समयअनुसार अपरान्ह १ बजे सागर घिमिरे एक्टमाथि सुनुवाइ हुनेछ। यो विधेयक गत अप्रिलमा मेरिल्याण्डको वुडल्यानमा एक बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोलीको निशानामा परेर मारिएका नेपाली विद्यार्थी सागर घिमिरेको नाममा नामाकरण गरिएको छ। यो विधेयकले यस्ता घटनाहरूलाई कसरी कम गर्न सकिन्छ भनेर अध्ययन गरी सिफारिस गर्न मेरिल्याण्ड राज्यका स्वास्थ्य मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय कार्यदल गठन गर्नेछ। ठूलो कार्याधिकार रहेको यो कार्यदलले मेरिल्याण्ड राज्यमा भएका यस्ता प्रकृतिका घटनासँग आकर्षित हुने सबै ऐन, कानुनको अध्ययन गरी सुधार या नयाँ ऐन तर्जुमा गर्न गभर्नरलाई सिफारिस गर्नेछ।


यसैगरी संसदको माथिल्लो सदन सिनेटमा विहीबार अपरान्ह १: ३० बजे दशै विधेयकमाथि सुनुवाइ हुदैछ। दशैलाई एक सांस्कृतिक चाडका रूपमा मान्यता दिएर मेरिल्याण्ड राज्यमा दशै दिवश घोषणा गर्नका लागि विधेयक प्रस्तुत गरिएको हो। तल्लो सदनमा डेलिगेट डा. भण्डारीले प्रस्तुत गरेको यो विधेयक उनकै विशेष पहलमा माथिल्लो सदन सिनेटमा सिनेटर रोजापेपेले क्रस फाइल गरिदिएका हुन्। 

यो विधेयकमाथि तल्लो सदनमा भने मार्च १५ मा सुनुवाइ हुने कार्यतालिका रहेको विधेयक प्रस्तोता डेलिगेट ह्यारी भण्डारीले बताएका छन्। अमेरिकामा जुन विधेयकमा ठूलो जनसमर्थन रहन्छ, त्यस्तो विधेयक नै कानून बन्ने गर्छ भन्दै डेलिगेट डा. भण्डारीले यो विधेयक पारित गराउन पनि सबैको साथ र सहयोग चाहिएको बताएका छन्। 

म आफ्नो ठाउँबाट यथेस्ट प्रयास गर्नेछु, यहाँहरूबाट होस्टेमा हैँसे भयो भने हामी यो विधेयक पारित गराउन सक्छों, त्यसो भयो भने सागर घिमिरे र उहाँजस्ता अनाहकमा मारिने जिन्दगीहरूले न्याय पाउँनेछन्। र, त्यो नै हामी सबैका तर्फबाट सागर घिमिरेप्रति साँचो श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना हुनेछ।
-डेलिगेट डा. ह्यारी भण्डारी

विधेयकमा प्रष्टसँगले दशै नेपालमा उत्पति भएको असत्यमाथि सत्यको जीत भएको अवसरमा मनाइने सांस्कृतिक पर्वका रूपमा उल्लेख गरिएको छ। 

यसैबीच डेलिगेट डा. ह्यारी भण्डारीले यी दुबै विधेयकलाई पारित गराउन ठूलो समर्थन चाहिएकाले सहयोगका लागि अमेरिकामा रहेको नेपाली डायस्पोरालाई अनुरोध गरेका छन्। उनले सम्बन्धित समितिका सिनेटर तथा डेलिगेटहरूलाई इमेल पठाएर आफ्नो समर्थन जनाउन र उनीहरूलाई समर्थनका लागि अनुरोध गर्न आव्हान गरेका छन्। उनले अमेरिकामा रहेको 'डकुमेन्ट स्पिक्स'को संस्कृति पनि स्मरण गराएका छन्।

अमेरिकाकै सबैभन्दा पुरानो राज्य विधानसभाका रूपमा रहेको मेरिल्याण्ड राज्य विधानसभाको ४४४औं संसद सत्र जारी छ। यो वर्षको संसद सत्र आगामी अप्रिल १२ मा सकिदैछ। 

नेपाली मूलका डा. ह्यारी भण्डारीले नेपालीका लागि विधायकका रूपमा खाता खोलेको यो नै पहिलो चार वर्षे कार्यकाल थियो । जारी अधिवेशन उनको पहिलो कार्यकालको अन्तिम संसद अधिवेशन हो । यसपटक मात्र पनि उनले सातवटा विधेयक प्रस्तुत गरेका छन् भने दर्जनौ विधेयकका लागि सहप्रायोजन गरेका छन्। भण्डारीले यो सत्रका लागि मात्र हैन, आफ्नो सम्पूर्ण जीवनमै दशै विध्यक र सागर घिमिरे एक्ट विधेयक महत्वपूर्ण रहेको बताएका छन्। 

अमेरिकाको मेरिल्याण्ड राज्य संसदमा बिहीबार नेपाल र नेपालीसँग साइनो जोडिएका दुई विधेयकहरूमाथि छलफल हुदैछ। तल्लो सदनमा सागर घिमिरे एक्टमाथि सुनुवाई हुदैछ भने माथिल्लो सदनमा दशै विधेयकमाथि सुनुवाइ हुदैछ। दुबै विधेयक नेपाली मूलका विधायक डा. ह्यारी भण्डारीको प्रायोजन गरेका हुन्।

दशै विधेयकका बारेमा जानकारी लिन यो लिंकमा क्लिक गर्नुहोला ।
 

सागर घिमिरे एक्टका बारेमा जानकारी लिन यो लिंकमा क्लिक गर्नुहोला ।

 

प्रकाशित मिति: : 2022-03-10 23:00:00

प्रतिकृया दिनुहोस्