नेपाल र भारत छिट्टै दुई वटा रेल मार्गबाट जोडिन्छन्ः भारतीय विदेश सचिव श्रृङ्ला

File Photo
File Photo

भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्लाले छिट्टै नेपाल र भारत दुई वटा रेलमार्गबाट जोडिने बताएका छन्। बुधबार लालबहादुर शास्त्री एकेडेमीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेलमार्गले दुई देशलाई अझ निकट बनाउने बताए। 

‘रेलमार्गका कारण दक्षिण एसियाको भूगोल द्रुत गतिमा आपसमा निकट भइरहेका छन्। छिट्टै नेपाल र भारत दुई वटा रेल लिंक र बंगलादेश र भारत ६ वटा रेल लिंकबाट जोडिने छन्,’ उनले भने। 

भारतीय विदेश सचिव श्रृङ्लाले छिमेक पहिलो नीतिलाई भारतले उच्च प्राथमिकता दिएको जनाए। यसैकारण नेपाल, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंकालाई उच्च प्राथमिकतामा राखिएको उनले बताए। पाकिस्तान बाहेकका छिमेकी राष्ट्रसँग निकट रहेर भारतले काम गरिरहेको भनाई उनको थियो। 

नेपाल लगायतका छिमेकी राष्ट्रसँग असाध्यै राम्रो राजनीतिक सम्बन्ध कायम राखेको दाबी उनले गरे। सन् २०१४ मा पहिलो पटक नरेन्द्र मोदीले प्रधानमन्त्रीको सपथ लिंदा सार्क राष्ट्रका सरकार प्रमुखको उपस्थिती र सन् २०१९ मा दोस्रो पटक मोदीले प्रधानमन्त्रीको सपथ लिंदा बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखको उपस्थितीलाई यसको उदाहरणको रुपमा उनले प्रस्तुत गरेका थिए। 

राजनीतिक सम्बन्ध राम्रो भएकै कारण सन् २०१४ पछि भारतका राष्ट्र तथा सरकार प्रमुखले नेपाल, भुटान र श्रीलंकामा एक दर्जनभन्दा बढी पटक भ्रमण गरेको उनले जनाए। 

छिमेकी राष्ट्रसँग कनेक्टीभिटी र उर्जाका क्षेत्रमा भारतले ठूलो सहकार्य गरिरहेको विदेश सचिव श्रृङ्लाले बताए। उनका अनुसार भारतले अहिले नेपालमा ७ सय मेगावाट र बंगलादेशमा १ हजार १६० मेगावाट विद्युत निर्यात गरिरहेको जनाए। भुटानबाट भने भारतले १.८ गिगावाट विद्युत आयात गरिरहेको छ। 

प्रकाशित मिति: : 2022-03-09 16:39:00

प्रतिकृया दिनुहोस्