गठबन्धनलाई परास्त गर्दै संघको अध्यक्षमा आचार्य विजयी

सत्तारुढ गठबन्धनलाई परास्त गर्दै रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित भएका छन्।

संघको ८औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी बशन्त सुवेदीलाई ३ मतले पछि पार्दै आचार्य निर्वाचित भएका हुन्।

आचार्य संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवार बनेका थिए भने सुवेदी सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए। आचार्यले ४ सय ३७ मतका साथ विजयी हासिल गर्दा सुवेदीले ४ सय ३४ मत ल्याएको निर्वाचन अधिकृत तुल्सी जीसीले जानकारी दिए।

अध्यक्षमा निर्वाचित आचार्य पूर्व उपाध्यक्ष हुन भने सुवेदी पूर्व महासचिव तथा यस अघि पनि अध्यक्षमा पराजित उम्मेदवार हुन्। जम्मा १ हजार २ सय १८ जना मतदाता रहेकोमा कुल ९ सय ९५ मत खसेको थियो।

अन्य पदाधिकारीहरु निर्विरोध भएपनि अध्यक्ष र सदस्यका लागि भने मतदान भएको थियो। पदभार ग्रहण र साधारणसभा भने फागुन २७ गते हुने जीसीले बताए।

‘औपचारिक कार्यक्रम गर्ने पुरानै प्रचलन अनुसार पहिले निर्वाचन र पछि वार्षिक साधारण सभा तथा पदभार ग्रहण कार्यक्रम तय भएको छ’ जीसीले भने ‘नेपाल उद्योण वाणिज्य महासंघका प्रतिनिधि र अन्य अतिथिहरु सहितको कार्यक्रम पछि हुने भएको हो।’

वाणिज्यतर्फको उपाध्यक्षमा मिलन रोका, उद्योगतर्फको उपाध्यक्षमा गोपाल प्रसाद श्रेष्ठ, महासचिवमा कमल घर्ती, सचिवमा साजन कुमार थापा र कोषाध्यक्षमा बसन्ता आचार्य निर्विरोध निर्वाचित भएका थिए।

यस्तै ९ जना सदस्यका लागि भएको निर्वाचनमा अशोककुमार आचार्य, इन्द्रबहादुर महरा, ऋषिराम रिजाल, चन्द्रबहादुर बुढा, दीपककुमार श्रेष्ठ, विशेष घर्तीक्षेत्री, रञ्जु पोख्रेल, शिवराज आचार्य र सुरेन्द्र थापा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: : 2022-03-09 12:47:00

प्रतिकृया दिनुहोस्