उनका चाउरी परेको हात दिनदिनै सडक छुन्छन्। कहिले गाडामा राखेर फोहोर बोक्छन्, कहिले छेउछाउका झारपात उखेलआखल पार्छन्। उनका हातले समाएका धेरै साबेल, झाडु र ठेला बिग्रिएर कता-कता पुगे। उनका हात भने ३९ वर्षदेखि ललितपुरका सडक सफा-सुग्घर पार्न लागिरहेका छन्।
लुरे खड्का ७६ वर्षका भए। उनको आधाभन्दा बढी जिन्दगी सडकको सफाइ र मर्मत सम्भार गर्दागर्दै बितेर गयो।
लुरेको जन्म २००२ जेठमा भैंसेपाटीमा भएको हो। उनको नाम लुरे हुनुका पछाडि पनि कथा जोडिएको छ।
‘आमा सानैमा बित्नुभयो। आमाको दूध खान नपाएर लुरे देखेपछि बाले मलाई लुरे भन्न थाल्नुभयो रे!’,उनले भने ‘बाले लुरे भनेपछि सबैले लुरे नै भनेर बोलाउन थाले। त्यसपछि त मेरो नाम नै लुरे!’
आमाले छोडेर जाँदा लुरे आठ महिनाका थिए। चार भाइ-बहिनीमध्ये कान्छा।
घरका कान्छा छोरा लुरेको पढाइमा रूची थिएन। गणितमा उनी निकै कमजोर थिए रे! प्रौढ कक्षा पढेपछि उनले पढाइ छोडिदिए। बाल्यकाल भैंसेपाटीमा घर र खेतीपाती गरेर बित्यो।