सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक कुनै ठोस निष्कर्श बिनै सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल भएकाे बैठकमा सहभागी एक नेताले बताएका छन्।
कुनै निष्कर्शमा पुग्न नसकेपछि बैठक शुक्रबार बिहान १० बजे पुन: बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन्। एमसीसीका विषयमा ठोस धारणा बनाउन बसेको बैठक कुनै टुंगोमा पुग्न नसकेरै सकिएको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले दिएको फेब्रुअरी २८ सम्म निष्कर्षमा पुर्याउनुपर्ने प्रस्ताव गरेकाे सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन्। उनले बैठकमा संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे छलफल भएको जनाएका छन्। उनले १६ गतेसम्म एमसीसीलाई निष्कर्षमा पुर्याउने गरी छलफल हुने बताएका छन्।
एमसीसीबारे निर्णायक छलफलका रुपमा हेरिएको बैठकको बिना निष्कर्ष टुंगिएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्ने अडान कायमै राखेका छन्।
प्रमुख सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संसदमा टेबल गर्ने विषयको विपक्षीमा छ। एमसीसीलाई कसरी अगाडी बढाउने भन्ने बारे आजको बैठकले निष्कर्श निकाल्ने विश्वास लिइएको छ।
बैठकमा माओवादी केन्द्रले संसदको अवरोध हट्नुपर्ने पुरानै अडान दोहोर्याएको छ। प्रचण्ड र माधवकुमार नेपालले एमसीसी संसदमा टेबल गर्नुअघि एमालेसँग सम्वाद गरेर अवरोध हटाउने वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
बैठकमा प्रधानमन्त्री देउवा, कांग्रेस नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ र उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल पनि सहभागी थिए।