निर्णायक मोडमा एमसीसी, संसदमा 'टेबल' होला !

सरकारले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि संसदको तल्लो सदन प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेकाे छ। बैठक दिउँसाे १ बजे बस्दैछ।

संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेकाे सम्भावित कार्यसूचीमा एमसिसी प्रस्तावलाई समावेश गरिएकाे छैन। तर सत्ताधारी कांग्रेसका नेताहरूले कार्यसूचीमा एमसीसी थपिने प्रतिक्रिया दिइरहेका छन्। कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन बैठकले पनि एमसीसीलाई संसदमा 'टेबल' गर्नुपर्ने निस्कर्ष निकालिसकेकाे छ।

बहुचर्चित एसमीसी परियोजना विरोध–विवाद–बहस–टिप्पणीका बाबजुद पनि निर्णायक माेडमा पुगेको छ। स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आजै एमसीसी ‘टेबल’ गर्नेछ।

अर्कोतर्फ सत्ताघटक माओवादी केन्द्र र एकीकृत समाजवादीहरू एमसीसीको पक्षमा देखिएका छैनन्। प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसीसी राेक्न नमिल्ने बताइसकेका छन्। यद्यपि, मतदानमा एमालेकाे भूमिका के हुन्छ स्पष्ट छैन।

बैठकमा सरकारले एमसीसी ‘टेबल’ गर्छ वा गर्दैन भन्नेबारे व्यापक चासो छ। सत्ता साझेदार दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीच सहमति नहुँदा एमसीसी देउवा थप समस्यामा छन्।

कांग्रेसका नेता प्रकाशशरण महतले आजको प्रतिनिधिसभा बैठकमा एमसीसी ‘टेबल’ हुने दाबी गरेका छन्। उनका अनुसार एमसीसी ‘टेबल’ गर्न सभामुख अग्निप्रसाद सापकोटाले प्रतिबद्धता जनाइसकेका छन्। ‘सभामुखबाट प्रतिबद्धता आइसकेको छ। आजको बैठकमा एमसीसी टेबल हुन्छ,’ प्रवक्ता महतले भने।

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी अनुमोदन गर्ने विषय भने समेटिएको छैन। बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्दैछ। समितिको बैठकमा एसीसी अगाडि बढाउन सरकारले प्रस्ताव गरे अघि बढाउने सभामुखको तयारी छ।

सत्ताघटक पार्टीका शीर्ष नेता बाबुराम भट्टराईले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारबाट हट्न चेतावनी दिएका छन्।

उनले यी दुई पार्टीलाई सत्ताको तर मारेर एमसीसीको विरोध नगर्न सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्। ‘सत्ताको तर पनि मार्ने र बाहिरको समाखुल्ले हुने छुट हुनुहुँदैन। भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो!’

प्रकाशित मिति: : 2022-02-16 06:47:00

प्रतिकृया दिनुहोस्