स्वास्थ्य उपचारबाट निको हुन्छ छारे रोग

छारे रोग लागेका ७० प्रतिशत बिरामी औषधि सेवनबाटै निको हुन सक्छन्, त्यसैले बिरामीलाई अस्पताल ल्याउन जनचेतना जगाउन जरुरी छ।

पहिलोपोष्ट

इसान अधिकारी

मस्तिष्क लगायत स्नायु प्रणालीका अङ्ग विद्युतीय तरङ्ग जस्तो प्रतिक्रियाबाट चल्छन्। शरीरका विभिन्न अङ्ग चल्दा पनि फरक फरक विद्युतीय सङ्केतले काम गरेको हुन्छ। शरीर सञ्चालन गर्ने वा रोक्ने ती विद्युतीय तरङ्ग सन्तुलित रूपमा रहेका हुन्छन्।

कहिलेकाहीं विविध कारणले त्यो सन्तुलन गुम्छ। त्यति वेला मान्छे बेहोश भएर ढल्ने, शरीरमा झट्का लागे जस्तो हुने, शरीर कस्सिने, मूच्‍र्छा पर्ने, झस्कने, ऐंठन हुने लगायत समस्या देखिन्छन्। त्यसलाई नै छारे रोग वा मिर्गी भनिन्छ।

छारे रोग भन्ने बित्तिकै हात तथा जिउ काँप्ने, मूच्‍र्छा पर्ने, दिसापिसाब निस्कने, मुखबाट फिंज आउने, जिब्रो टोक्ने, आँखा झिम्क्याउने जस्ता समस्या देखिने गरेको आम बुझाइ छ। यसका अतिरिक्त मस्तिष्कमा आउने तरङ्गको प्रतिक्रियाले शारीरिक वा मानसिक रूपमा असमान्य बनाउँछ।

त्यस्तै, छारे रोग हुँदा व्यक्ति अनुसार फरक फरक लक्षण देखिन सक्छन्। कसैको हात मात्र काँप्छ, कोही हाँस्ने गर्छन्, कसैको टाउको झुम्म हुन्छ, कोही टोलाइरहन्छन्। बिर्सने समस्या बढ्दै जाने, मुडी तथा रिसाहा हुने लक्षणले मानिसलाई सताउँदै गएको छ भने छारे रोग हुन सक्छ।
 

प्रकाशित मिति: : 2022-02-14 16:29:00

प्रतिकृया दिनुहोस्