जनयुद्ध नभएको भए नेपालमा यति धेरै राजनीतिक परिवर्तन हुने थिएन: पूर्वमन्त्री भण्डारी 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले फागुन १ गते देश र जनताले गौरव गर्नुपर्ने दिन भएको बताएका छन्। 

आइतबार बिहान चन्दननाथ नगरपालिका-२ भण्डारीबाडामा रहेको जनयुद्धका सहिदहरुको शालिकमा माल्यार्पण गर्दै उनले भने, 'नेपालमा जनयुद्धको ओैपचारिक सुरुवात भएको  २७ वर्ष पूरा भएको छ। यो अवधिमा आमूल परिवर्तन हुन नसके पनि आंशिक उपलब्धि हासिल गर्न जनयुद्धको ठुलो देन छ।'

उनले सहिद परिवार र स्थानीय बासिन्दासँग जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्दै अशोक भण्डारी (आक्रोश), उनबहादुर भण्डारी (विनय),  हस्तबहादुर भण्डारी (एटम) र रामबहादुर भण्डारी (परमाणु ) सहित चार जना सहिदहरुको शालिकमा माल्यार्पण गरेका थिए। 

उक्त कार्यक्रमको अवसरमा पूर्वमन्त्री भण्डारीले नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक सफलता र उपलब्धि हासिल गर्न सहिदहरुको बलबाट नै सकिएको जिकिर गरे।  

'जनयुद्ध एउटा गौरवपूर्ण विद्रोहको दिन हो। जसले नेपाली जनतालाई थव गौरभाम्बित बनाएको छ'  उनले भने, 'यसका लागि आफ्नो रगतको बलिदान गर्ने र जनताको मुक्तिको लागि सहिद बन्नेहरुको अतुलनीय योगदान छ।'

उनले नेकपा माओवादी केन्द्रले सहिद र उनीहरुको सपनालाई साकार पार्न अथक प्रयास गरिरहने बताए।

'सहिदको बलिदान नभएको भए मुलुकमा गणतन्त्र स्थापना हुने थिएन। महत्वपूर्ण राजनीतिक परिवर्तन हुने थिएनन्' उनले भने, 'माओवादी नेतृत्वमा आएको विचलनले गर्दा केही सहिदको सपनामा केही समस्या देखा परे पनि अधुरा लक्ष्य पूरा गर्न हाम्रो पार्टीका नेता कार्यकर्ता त्याग निष्ठाका साथ लाग्नेछौं।'

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई ४० बुदे माग पेश गरेर पूरा नभएपछि फागुन एक गतेबाट नेकपा माओवादीले जनयुद्धको ओैपचारिक घोषणा गरेको थियो। 

त्यसयता माओवादीले हरेक वर्ष फागुन एक गते जनयुद्ध दिवस मनाउँदै आएको छ। १० वर्षे जनयुद्धताका करिब १७ हजार नागरिकको ज्यान गएको थियो।

प्रकाशित मिति: : 2022-02-13 19:58:00

प्रतिकृया दिनुहोस्