बतास समूहको पक्षमा उच्च अदालतको आदेश

File photo
File photo

उच्च अदालत, पाटनले पशुपति क्षेत्र विकास कोषविरुद्ध बतास समूहले दायर गरेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश नरिधर भण्डारीको एकल इजलासले उक्त आदेश गरेको हो।

'अन्तरिम आदेशको टुङ्गो नलागेसम्म मिति २०७६/०१/३० को करार सम्झौताबमोजिम होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सिर्जना नगर्नु-नगराउनु भनी विपक्षीका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ', फैसलामा भनिएको छ।  

कोषसँग नेपाल–भारतमैत्री पशुपति धर्मशाला भाडामा लिएको होटेल आनन्द प्रालिले निषेधाज्ञा आदेशको माग गर्दै गत बिहीबार कोषविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको थियो।

अदालतले छलफलका लागि दुवै पक्षलाई यही फागुन ९ गते उपस्थित हुन आदेश दिएको छ।

प्रकाशित मिति: : 2022-02-13 18:32:00

प्रतिकृया दिनुहोस्