तुलसीपुर–१ (परिवर्तित नाम) भर्खरै १६ वर्षमा टेकेकी थिइन्। दुई वर्षसम्म तत्कालीन नेकपा माओवादीको ‘जनमुक्ति सेना’ मा लागेर घर फर्किएकी उनलाई २०६२ सालमा सेनाले नजिकैको बजारबाट गिरफ्तार गरेर घोराही ब्यारेकमा लगेको थियो।
‘माओवादीको आरोपमा सेनाले तीन महिना बन्दी बनाएर राख्यो’ उनले भनिन्, ‘ब्यारेकमा बस्दा मैले जे भोगें, त्यो सम्झँदा अहिले पनि आफू जिउँदै मरे जस्तो अनुभूति हुन्छ।’ उनका भनाइमा, ब्यारेकमा उनले निर्मम यातना भोगिन्। त्यहाँ सबै बस्त्र फुकालेर उभ्याइन्थ्यो। बन्दुकको नालले शरीरमा जहाँ पायो त्यहाँ हिर्काउने गरिन्थ्यो। यौनांगमा समेत हिर्काइन्थ्यो।
‘हात–खुट्टा बाँधेर, निर्बस्त्र बनाएर कुट्थे’ तुलसीपुर–१ ले भनिन्, ‘अनि जबर्जस्ती गर्थे। त्यो बेला मैले आफूलाई एकदमै असहाय ठानें, रोएँ कराएँ, बिन्तीभाउ गरें। तर मेरो केही लागेन। उनीहरूले मेरो इच्छा विपरीत गर्नु/नगर्नु गरे।’ तीन महिना सैनिक ब्यारेकमा र ६ महिना प्रहरी हिरासतमा बसेपछि उनी रिहा भएकी थिइन्।