आधा दर्जन कम्पनीका मालिकको कामः चिल्लो गाडीमा हिंड्ने, ठगी गर्ने !

नाम– ईश्वरी प्रसाद पाेख्रेल 
उमेर– ५० वर्ष 
काम– आधा दर्जन कम्पनीका मालिक (प्रमुख)

झट्ट यसरी परिचय सुन्दा अथवा पढ्दा ईश्वरी प्रसाद पोख्रेलले के गर्छन् जस्तो लाग्छ। यति धेरै परिचय दिएपछि सायद आफ्ना लागि मात्र होइन पोख्रेलले समाजका लागि पनि योगदान दिएको हुन सक्ने आभाष नहुने कुरै भएन।

हुनुपर्ने पनि जस्तो आभाष भयो, त्यस्तै हो। तर बाहिरी आवरण देखेर जे सोचिन्छ, त्यही हुँदैन भन्ने गरिन्छ। यहाँ परिचय खुलाइएका पात्रको पनि जे आभाष भएको छ, त्यस्तो छैन।

प्युठानको झिमरुक गाउँपालिका वडा नं. ६ तोरवाङ बस्ने पोख्रेलले आफ्नो आधा दर्जन कम्पनीमा लगानी रहेको बताउँदै विगत एक दशकदेखि  विभिन्न ठाउँमा करोड बढी ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेकाे छ।

ठगी गरेको आरोपमा कपिलवस्तु प्रहरीले उनलाई पक्राउसमेत गरेको छ।

सोमबार राति ८ बजे कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ स्थित वडा प्रहरी कार्यालय चन्दौटाको चेक पोइन्टबाट पोखरेललाई प्रहरीले पक्राउ गरेको थियाे।

बाग्मती प्रदेश ०१–०२६ च ४००१ नं को कारमा चढेर आउँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएकाे छ।

पाेख्रेलले विभिन्न ठाउँमा २ करोड ६१ लाख बढी ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले अझै बढी ठगी गरेको हुन सक्ने प्रहरीको आशंका छ।

उनले आफ्नो मकवानपुरको चित्लाङमा भेडीगोठ बाख्रा फार्म प्रा.लि., चितवनको खैरेनीपुरमा कामधेनुगाई फार्म प्रा.लि., प्युठानको झिमरुकमा प्रिसा पशुपन्छी तथा कृषि फार्म प्रा.लि, काठमाडौंमा प्रिंस कन्ट्रक्सन प्रा.लि., कपिलवस्तुमा गौमुखी फिड इण्डष्ट्रीज प्रा.लि रहेको बताउँदै ठगी गर्ने गरेको प्रहरीले बताएको छ।

यस्तो छ उनको ठगी शृङ्खला

प्रहरीका अनुसार गत असार १८ गते कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. १ मालटोलस्थित केजिएन मार्ट पसलबाट ५० हजार बराबरको किराना र कस्मेटिकलगायतको समान किने।

उनले सामान किन्दा आफू कपिलवस्तु बिजयनगर गाउँपालिका वडा नं. ४ अन्तर्गत रहेको गौमुखी फीड इण्डष्ट्रीज एण्ड ट्रेडलिंकको प्रोप्राइटर भनेका थिए। उनले नगद नदिएर सामानको ५० हजारको चेक काटिदिएका थिए। तर उक्त माछापुच्छ्रे बैंकको चेकको खातामा पैसा थिएन। त्यसपछि पाेख्रेलमाथि ठगी मुद्धा दर्ता भइसकेको छ।

यस्तै ०५७ साल असोज १ गते स्थानीयलाई डर त्रासको वातावरण सृजना गरेको भनेर ईलाका प्रहरी कार्यालय बुटवलमा सार्वजनिक ऐनअन्तर्गत उनीमाथि मुद्दा दर्ता भएको छ।

- ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा २०६९ साल पुस १६ गते तत्कालीन साइन डेभलपमेन्ट बैङकको केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई फोन गरी आफू माओवादी नेता जनार्दन शर्मा (प्रभाकर) हुँ भनि कामको शिलशिलामा १/२ घण्टाको लागि रकम आवश्यक परेको भन्दै नविल बैंकको नक्कली खाता –नं.१३१००११७५१३४२ पन्थलाई दिई ७ लाख ठगी गरेको मुद्धा दर्ता भएको र जेल चलाउन भएको।

- महानगरीय प्रहरी परिसर काठमाडौंमा २०७३ साल मंसिर ७ गते राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भनि १ लाख ५० हजार रूपैयाँ ठगी गरेको हुनाले मुद्धा दर्ता भई अनुसन्धान भएको।

- महानगरीय प्रहरी परिसर काठमाडौँमा २०७८ पुस ७ गते आफ्नो बैंक खातामा नभएको रकम ५० लाख रूपैयाँको चेक काटी दिएकोमा उक्त रकम बैंकमा लिन जाँद चेक बाउन्स भए पश्चात बैंकिङ कसुरमा मुद्धा दर्ता भई अनुसन्धान भएको।

- २०६४/०६५ सालमा जिल्ला दाङ साविक लालमटिया गा.वि.स.हाल राप्ती गाउँपालिका वडा नं. २ मा साइन्स कलेज स्थापना गर्ने र जागिर लगाइदिने भनि विभिन्न व्यक्तिहरूबाट अन्दाजी १ करोडभन्दा बढी रुपैयाँ ठगेर फरार भएको भन्ने खुलेको।

- २०६५ सालमा कैलाली जिल्लाको धनगढीस्थित मेडिकल कलेज खोल्ने र सोको लागि लगानी चाहिने भनि विभिन्न व्यवसायी तथा सर्वसाधारणहरूसंग लाखौँ रकम ठगी गरी फरार भएको भन्ने खुल्न आएको।

- पर्सा जिल्लाको विरगञ्जमा देवेन्द्र कुमार कर्णले सञ्चालन गरेको जगदम्बा सेल्स ट्रेडिङ प्रा.लिमा गई आफु गौमुखी फिड इण्डष्ट्रीज प्रालिको सञ्चालक भएको भनि च्यानल गेट, एङगल तथा रडहरू ४७ लाख रूपैयाँमा खरिद गरी सोवापत पैसा नभएको चेक दिएर फरार भएको मुद्दा।

- गोयल कम्पनीको विक्रेता भैरहवाको शिद्धार्थ हार्डवेयरबाट २०७८ माघ ५ गते २३ लाख रूपैयाँ बराबरको हार्डवेयर सामग्री फ्याक्ट्री बनाउन लागेको र सोवापत पनि पैसा नभएको चेक दिएर फरार भएको।

- नेपाली सेनाको ठेकेदार हुँ भनि चितवन जिल्लाको टाँडीमा सञ्चालित रिजाल फुडबाट २०७८ कार्तिक ३० गते दालमोट, भुजियालगायत नमकिनजन्य सामानहरू खरिद गरी सोवापतको भुक्तानीको लागि माछापुच्छ्रे बैंकको रकम नभएको चेक दिई फरार भएको, सोवापत कम्पनीले २८ लाख रूपैयाँको क्षति बेहोरेको।

- नवलपरासी जिल्लामा रहेको समृद्धि स्टिल कम्पनीमा २५ लाख रूपैयाँ बराबरको सामान लिइ रकम नभएको चेक दिएर फरार भएको।

- प्युठान सिमेन्ट कारखानाबाट २० लाख रूपैयाँ बराबरको सामान लिएर रकम नभएको चेक दिई फरार रहेको।

- गोल्छा अर्गनाइजेशनबाट ३० लाख रूपैयाँ बराबरको चामल, चिउरा तथा फलामका सामाग्रीहरू लिई रकम नभएको चेक दिएर फरार भएको।

- काठमाडौंको टेकुमा शिव प्रसाद थापाले सञ्चालन गरेको निर्मणी मेशिनरी सप्लायर्सबाट विभिन्न मेसिनरी सामानहरू लिई माछापुच्छ्रे बैंकको १ लाख २७ हजार रूपैयाँ  राबरको रकम नभएको चेक दिई फरार रहेको।

- सुनसरी जिल्लाको ईनरुवामा रहेको नमस्ते नेपाल खाद्य उद्योग प्रालिबाट आफ्नो गौमुखी फिड इण्डष्ट्रीको लागि भनि २ ट्रक मकै लिएकोमा सो वापतको भुक्तानीको लागि कृषि विकास बैंकको रकम नभएको खाताको २५ लाख २० हजार रूपैयाँको चेक दिई फरार भएको।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार यीमाथि उल्लेख गरिएका ठगीसम्बन्धी मुद्दाबाहेक पाेख्रेलले अन्य ठाउँमा पनि ठगी गरेको हुन सक्ने आँकलन गरिएको छ। साथै प्रहरीले पोख्रेलले अन्य ठाउँमा पनि ठगी गरेको कोही पीडित भए कपिलवस्तु प्रहरीमा सम्पर्क गर्न आग्रह गरको छ।

प्रकाशित मिति: : 2022-02-10 19:03:00

प्रतिकृया दिनुहोस्