गण्डकी विश्वविद्यालयमा जन्मियो राष्ट्रिय आविष्कार केन्द्रको भाइ

महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्रले पाेखरास्थित गण्डकी विश्वविद्यालयकाे सहकार्यमा अनुसन्धान गर्ने भएकाे छ। गण्डकी प्रदेश सरकारले विश्वविद्यालका विद्यार्थीहरूलाई अनुसन्धान सहजताका लागि आविष्कार केन्द्रकाे स्थापना गरेकाे हाे।

अबकाे एक महिनामा विश्वविद्यालयमा सबै प्रक्रिया पूरा गर्ने गरी काम सुरू भएकाे आविष्कार केन्द्रका प्रमुख पुनले बताएका छन्।

‘गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा बन्दै गरेको अनुसन्धान केन्द्रको फोटो र सो केन्द्रको लागि चाहिने भर्खरै खरिद भएका ठूला–ठूला मसिनहरूकाे फाेटाे,’ पुनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘अब एक महिनामा ति सबै मसिनहरू जडान गरेर यो केन्द्रमा काम सुरु हुनेछ।’

पुनले गण्डकी विश्वविद्यालयका रजिस्ट्रार डा. कैलास तिमिल्सिना र आविष्कार केन्द्रका डेपुटी डाईरेक्टर सागर रेग्मीले निर्माणाधिन केन्द्रको अवलोकन गरेकाे बताएका छन्।

गण्डकी विश्वविद्यालय अन्तर्गत अनुसन्धान केन्द्रको उद्देश्य र कामहरु राष्ट्रिय आविष्कार केन्द्रकै तरिकाले सञ्चालन गर्ने गरी सहमति भएकाे पुनले जानकारी दिएका छन्। ‘केन्द्रसँग राष्ट्रिय आविस्कार केन्द्र कीर्तिपुरले हालसम्म सिकेकाे अनुभवको आधारमा सहकार्य हुनेछ,’ पुनले लेखेका छन्।

यो केन्द्रमा विश्वविद्यालयका विद्यार्थी बाहेक गण्डकी प्रदेशको विभिन्न जिल्लाहरुबाट विदेशमा काम गरी त्यस्ता ठूला–ठूला मेसिनहरू चलाउने सीप र नयाँ सामानहरु बनाउने ज्ञान लिएर आएका नेपालीहरुले सोही केन्द्रबाट कार्य गर्न सक्ने छन्।

उनले जोश, जागर र सीप भएका युवालाई सोही आविष्कार केन्द्रमा सम्पर्क गरी अनुसन्धनको काम गर्न समेत आह्वान गरेका छन्।

राष्ट्रिय आविष्कार केन्द्रको सहकार्य र संलग्नतामा यसअघि विराटनगरको मनमोहन पोलिटेक्निक विश्वविद्यालयबाट पनि अनुसन्धान सुरू गरिएकाे छ।

प्रकाशित मिति: : 2022-02-09 18:22:00

प्रतिकृया दिनुहोस्