प्रिय कौशिकी,
उत्पत्तिको करोडौँ करोड वर्षपछि, एक दिन हाम्रो भेट भयो
हाम्रो प्रेम भयो, जुन प्रेमको साक्षी थिए आकाशका ताराहरू
वन, लता, कुसुम र कुमकुम लहराहरू
त्यसयता अनेकौँ वर्षहरू बिते ।
वर्षहरू बित्नु मात्र अंकको खेल हो प्रिय,
तर प्रेम सतरञ्ज होइन, हाततिज गन्नलाई
यो त मनको निर्मल उपासना हो ।
प्रिय कौशिकी, म हाम्रो प्रेमको उपासनामा छु
निरन्तर, निरन्तर, निरन्तर
र, अरु करोडौँं करोड वर्ष म तिमीलाई प्रेम गरिरहनेछु ।
यो कथा सप्तकोसी नदीसँगको प्रेमकथा हो। कुनै बेला जसको नाम थियो कौशिकी। र, माथिको कविता हो– उसको प्रेमी कौमदले गाएको प्रेमआराधनाको मन्त्र ।
प्रिय पाठक ! तपाईं सप्तकोसी नदीको गड्तिरैगड्तिर माथि कतै आकाश छुने यात्रा गर्दै हुनुहुन्छ भने कृपया एउटा काम गर्न नभुल्नुहोला । सप्तकोसी नदीमा जब सूर्योदयको पहिलो किरण खस्छ, नदीको पानी आफ्नो अञ्जुलीमा उठाउनुहोला । त्यसलाई एकछिन स्थिर राख्नुहोला । मनको ढोका खोल्नुहोला । सुस्तरीसुस्तरी अञ्जुलीको पानीमा आफ्नो प्रेमलाई प्रतिस्थापन गर्नुहोला । र, अञ्जुलीमा नियालेर हेर्नुहोला । तपाईं असल प्रेमी हो भने, त्यहाँ तपाईंले एउटा आकृति देख्नुहुनेछ । चमचम जगमग चम्कँदै गरेको अनमोल मोतिजस्तो आकृति । त्यो आकृति हो, तपाईंको प्रेमको । त्यो आकृति हो, कौशिकी र कौमदको प्रेमको ।
यदि तपाईंले त्यो आकृति देख्नुभयो भने ईश्वरलाई धन्यवाद दिनुहोस् । तपाईंको प्रेम अम्मर भयो ।
अब कथा सुरु गरौँ ।
यो कथा किंवदन्तीजस्तो छ, तर होइन । यो कतै लेखिएको ऐतिहासिक आख्यान पनि होइन । न यो कथा पुराणमा उल्लेख छ, न वेद र उपनिषद्मा । र, यो हो विज्ञान, तथ्य र तर्कहरू आविष्कार हुनुभन्दा धेरै अगाडिको कथा ।