एक पटक युरोप घुम्ने इच्छा छ [भिडियाे]

हेमन्त विवश

काठमाडौं

कोरोनाको बढ्दो संक्रमण दरलाई मध्यनजर गरी बन्द गरिएको ढोका। आकर्षक डिजाइनका फ्रेमका फोटाले सजाइएको ढोका छेउको भित्तो। ढोकामाथि सि.बि माउन्ट फ्रेमिङ सेन्टर लेखिएको बोर्ड। यो दृश्य हो, बुद्घनगरस्थित च्याम्बा लामाको पसलको।

न्वारनको नाम के थियो कुन्नि ! थाहा छैन्, उनलाई। पछिल्लो समय उनलाई सबैले बोलाउने र चिन्ने नाम हो, च्याम्बा। नागरिकतामा लेखिए अनुसार उनको असली नाम हो, मिस्कुल तामाङ। तामाङ भाषामा मिस्कुलको अर्थ हुन्छ, चञ्चले।

‘सानैदेखि निकै नै चञ्चले थिएँ, त्यही भएर सबैले मिस्कुल भनिदिए। तेह्र/चौध वर्षको उमेरमा त झन म डुलुवा बनेँ। दिनभर कहाँ–कहाँ पुग्थेँ। कुनै गन्तव्य नै थिएन। जुन दिशातिर हिँड्यो एकोहोरो हिँडेको हिँड्यै गर्थेँ। तर, साँझपख जहाँबाट पनि घर आइहाल्थेँ,' उनले विगतका दिन सम्झिँदै सुनाए।

सानैमा बुवा गुमाएको त्यो डुलुवा केटोको कुनै लक्ष्य थिएन। तीन वर्षसम्म विद्यालयको आँगनमा पाइला पनि टेकाएकै हो। तीन कक्षाबाटै छुट्यो लेख्ने पढ्ने काम पनि। आमाको डर लाग्दैन थियो। बुवा हुनुहुन्न थियो। दाइ राम्ररी बोल्न नसक्ने। अनि त जिन्दगी फुक्काफाल हुने नै भयो।

यसरी डुल्ने क्रममा १८ वर्षको उमेरमा पुगे तातोपानी नाका। पारिपट्टि चीनको भू–भागमा सामान लोड–अनलोड गर्ने काम गर्न थाले। कमाइ राम्रो थियो। तर, पैसा देख्नै नहुने। पायो कि सिध्याइहाल्नु पर्ने। लजालु मुस्कानका साथ सुनाउँछन् उनी,‘भोलि कमाइ भैहाल्छ। यो साँचेर के नै गर्नु छ र भन्यो खाएर सिध्यायो।’ 

दिनमा पन्ध्र मिटर कपडा भन्सार नतिरेरै ल्याउन पाउँथे, उनी। बिस्तारै खासाबाट कपडा ल्याएर बाह्रबिसेका पसलेलाई बेच्न थाले। अनेक तगडमबाजी गरेर दिनमा चालिस मिटरसम्म ल्याउँथे।

‘२०४५ सालतिरको कुरा हो व्यापारीले अग्रीम पैसा दिन्थे कपडाका थान ल्याउन। मिटरमा तीनदेखि पाँच रुपैयाँसम्म नाफा आउँथ्यो। त्यतिबेला पचास हजार कमाएको थिएँ। त्यो पैसा पनि काम लागेन। खाएरै सकेँ,’ उनले लामो सास तान्दै सुनाए।

त्यही दौरानमा उनी गाडीको खलासी बने। गाडी चलाउन पनि सिके। तीन वर्षसम्म गाडीमै हिँडे। जे देख्यो त्यो सिक्नुपर्ने बानी थियो। २०४९ सालतिर गाउँकै जीतबहादुर श्रेष्ठले बागबजारमा फुजी कलर ल्याब स्टुडियो खोले। ल्याबको ब्यवस्थापनको पाटो सबै उनका भाइ बाबुकाजीले हेर्थे। मान्छेको रङ्गगीन फोटो देखेर त्यतातिर आकर्षित भएका च्याम्बाले उक्त ल्याबमा मन लगाएर काम गरे। सबै काम नसिकुञ्जेल अरु केही सोचेनन्। त्यतिबेला उनको कतिपय पत्रकारसँग परिचय हुनगयो। जसमध्यका एक हुन्, ऋषि धमला।

उनी बताउँछन्,‘धमला दृष्टि पत्रिका चलाउँनुहुन्थ्यो। पत्रिकाको लागि फोटो निकाल्न आउनेदेखि नयाँ–नयाँ ग्राहकलाई ल्याउने गर्नुहुन्थ्यो। त्यतिबेला धमलाले थुप्रै काम दिनुभयो। धेरैसँग चिनजान गराइदिनुभयो।’

ल्याब सञ्चालन भएको तीन वर्षपछि जीतबहादुर अमेरिका हानिए। ल्याब बन्द भयो। अनि च्याम्बाले तीन हजार तिरेर लाइसेन्स निकाली ट्याक्सी चलाउन थाले। ट्याक्सी चलाउने क्रममै अर्का ट्याक्सी चालकले आफ्नी भान्जीसँग बिहे गर्न भने। केटीकी आमासँग भेटघाट गराए। कुराकानी भएपछि उनले धादिङकी नानु लामालाई भगाएर ल्याए। आज दुई छोरी एक छोरा छन्। जेठी छोरी रीना अष्ट्रेलियामा अध्ययनरत छन्। माइली छोरी मीना आफ्नो पढाइको साथसाथै व्यापारमा सघाइरहेकी छन्। सबै हिसाब राख्ने काम उनैको छ। छोरा अमित कक्षा ११ मा अध्ययन गरिरहेका छन्।

उनी सुनाउँछन्,‘एउटाले बेइमानी गर्दा ठाउँकै बदनामी हुन जान्छ। त्यसैले बेइमानी गर्नु हुँदैन। मैले नानुलाई भगाएको भोलिपल्टै उनका बुवाले मलाई बाटोमा रोकेर झपार्दै भन्नु भयो –‘मेरी छोरी किन भगाइस्। बेच्नलाई ?’  त्यति बेला सिन्धुपाल्चोकको भनेपछि मान्छेले अर्कै दृष्टिले हेर्थे। म दुःख गरेर आएको हुँ। गलत गरेको छैन र गर्दैन पनि। बाँकी जे भन्नु हुन्छ भनेपछि केही नबोली जानुभयो। अनि भोलिपल्ट घरमा बोलाएर सगुन गर्नु भयो।’

जीवनको असली पाठशाला भन्नु नै शाहस, इमानदारिता र लगनशिलता ठान्ने च्याम्बाको संघर्षको कथा लामो छ। उनले निकै दुःख पाए तर हार खाएनन्। निराश बनेनन्। तीन वर्ष ट्याक्सी चलाए। दिमाग फोटो स्टुडियो चलाउनमै केन्द्रित थियो। त्यसैले त्यो काम छोडेर पुनः फर्किए पुरानै काममा। शंखमुलमा सुरुवात गरे फोटो लेमिनेसनको काम। जहाँ  प्लाइ कटिङ गर्थे। त्यसमा फोटो पेस्ट गर्थे र वरिपरि कालो कलर लगाउँथे। उनी भन्छन्,‘नेपालमा लेमिनेसनको सुरुवात नै मैले गरेको हुँ।’

लेमिनेसनको काम गर्नेताका मासिक चालिस हजार भाडा तिरेर सिङ्गै घर लिए। घरभाडामा मिलाइदिने मान्छे आफैले फोटो स्टुडियो खोलेपछि घरबेटीलाई कुरा लगाइदिएर च्याम्बालाई ठाउँ छोड्न बाध्य तुल्याए। जहाँ उनको दुई लाख लगानी डुब्यो। त्यसपछि उनी पानोरमा कलर ल्याबमा जागिर गर्न थाले। लगत्तै चक्रपथको ल्याबबाट राम्रो तलबको अफर आयो। केही समय त्यहाँ काम गरे। अनि पानोरमाबाट छुट्टिएर गएका इन्दुबर पण्डितले कुलेश्वरमा फुजी ल्याब सञ्चालन गरे। जहाँ च्याम्बालाई बोलाएर काम दिए। तिनै पण्डितले च्याम्बालाई सहकारीबाट पाँच लाख रुपैयाँ ऋण निकाली दिए।

चार लाखमा मेसिन किनेर च्याम्बाले कालीमाटीस्थित खोलाको छेउमा सुरु गरे फोटो फ्रेमिङको काम। पण्डितकोमा काम गरेको तलबले उनी ब्याज तिर्न थाले। ऐना पसलमा काम गर्ने तराइबासी अशोक शर्मासँग फ्रेम सम्बन्धी राम्रो सीप थियो। च्याम्बाले उनलाई काम दिए। कारखाना खोलेको छ महिनासम्म सामान नबिक्दा रुन मात्रै नसकेका च्याम्बा छ महिनापछि एकाएक चम्किए।

एकदिन उनी नभएको बेला कसैले उनको कारखानामा आई मेसिन हेरेर त्यस्तै मेसिन मगाई काम सुरु गर्न थालेछन्। तिनी पैसावाल थिए। च्याम्बालाई प्रतिस्पर्धामा उत्रिन हम्मेहम्मे नपरेको हैन। अन्तत्वगत्वा तिनले च्याम्बाको जस्तो फिनिसिङ र क्वालिटी दिन सकेनछन्।

कालीमाटीस्थित खोलाकिनारमा अलि दुर्गन्ध आउन थालेपछि च्याम्बाकी सासूले खोजिदिएकी हुन्, बुद्घनगरमा ठाउँ। पोहोरको कोरोनाले लगेर गयो सासूआमालाई पनि। यो ठाउँमा आएपछि च्याम्बालाई झनै भ्याइनभ्याइ भएको छ।

जिन्दगीमा थुप्रै हन्डर खाँदै आएका च्याम्बा अहिले सुर्खेत, हेटौडा, त्रिशूली लगायतका कतिपय ठाउँमा सामान पठाउछन्। वर्षमा एक करोड जतिको ब्यापार गरिरहेका छन्। पछिल्लो समय बजारमा उनको ब्राण्डको चर्चा छ। उनी बताउँछन्,‘यति प्रतिशत दिन्छु उति प्रतिशत दिन्छु जिल्लातिर पनि खोलौं भन्नेहरु आइरहन्छन्। पैसा दिन्छु नाम मात्रै दिनोस् भन्ने पनि नआएका हैनन्। तिनले क्वालिटी दिन सकेनन् र मेरो बदनाम भएपछि के गरौंला भन्ने सोचेर दिइनँ।’

पछिल्लो समय बच्चाका हातखुट्टा र नवदम्पतिको हात मिलाएको फोटो खिचेर जस्ताको त्यस्तै मेटलको बनाई फ्रेमभित्र सजाउने नौलो तरिका अपनाएका छन्। नयाँ–नयाँ आकर्षक डिजाइनका फ्रेमका लागि अडर आइरहन्छ। ९ जनालाई रोजगारी दिइरहेका छन्। ब्यस्तता अझ उस्तै छ। पछिल्लो समय उनी वार्षिक एक करोडसम्मको ब्यापार गरिरहेका छन्। उनले यही पेशामा नयाँ–नयाँ सिर्जना गरेर अघि बढ्ने सोच बोकेका छन्। अझै दश वर्ष यही पेशामा संघर्षरत रहेर नयाँनयाँ सिर्जना गर्ने सोच बोकेका उनको रहर भनेकै एकपल्ट यूरोप घुम्ने छ। उनको इच्छा चाँडै पुरा होस्। शुभकामना।

प्रकाशित मिति: : 2022-01-26 19:49:00

प्रतिकृया दिनुहोस्