तीन महिना भयो कैलालीकी गौरी सापकोटाका आँखा ओभानो नभएका । उनका आँखामा मृतक श्रीमान्को घरबाट बिदा हुँदाको तस्वीर नाचिरहन्छ, छिट्टै फर्किन्छु भनेर बिदा भएको क्षणले सताइरहन्छ ।
श्रीमती र छोराछोरीको भविष्यको खोजीमा स्वर्णिम सपनाको भारी बोक्दै करीब तीन महिनाअघि टर्की पुगेका गौरीका श्रीमान् लक्ष्मण सापकोटा उतै अस्ताए । घरबाट जाने बेलामा आमा, श्रीमती र छोराछोरीलाई छिट्टै फर्किआउने वाचा गरेर टर्कीर् हुँदै ग्रिसका लागि बिदा लिएका उनी उतै बिलाए ।
गौरीले श्रीमान्को अन्तिम सास महसुस गर्न पाइनन् नै, तीन महिना बितिसक्दा श्रीमान्को लाससमेत देख्न पाएकी छैनन् । सँगै उनका कलिला लालाबालाको भविष्य के हुने हो भन्ने चिन्ता थपिएको छ ।
३४ वर्षीया गौरीलाई श्रीमान् लक्ष्मणको लास भए पनि एक पटक छुन मन छ, अंगालो हाल्न मन छ । ‘सास त गयो गयो, लाससमेत देख्न नपाउनु भन्दै बिलौना गरिरहनुहुन्छ’ गौैरीका भतिजा गणेश सापकोटा भन्छन्, ‘तीन महिना भइसक्यो आँखामा आँसुका धारा बगेको ।’