नेपालको राजनीतिमा एकपटक फेरि चुनावी चर्चा चुलिएको छ। 'संसद–तह'काे निर्वाचन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्थाअनुसार आवधिक निर्वाचन हुनैपर्छ। वास्तवमै भन्नुपर्दा यी–यस्ता निर्वाचनबारे खासै चर्चा परिचर्चा नहुनुपर्ने हाे। तर अनेकन 'हत्कण्डा' अपनाइने मातृभूमि 'नेपाल'मा हुनै नपर्ने वहस पनि जवर्जस्त भइरहेकाे छ।
राजनीतिक बजारमा अहिले चलिरहेकाे 'चुनावी वहस' अनावश्यक हो। तर चारैतिर वहस फैलिनुको पछाडि खास कारण नभएकाे भने विल्कुलै हाेइन। ताजा जनमतकाे संज्ञा दिएर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले 'बेमौसमी निर्वाचन' को माहोल बनाउन खोजेकाे पनि प्रष्टै देखियाे। त्यो पनि एकपटक हाेइन, दुई–दुईपटक। धन्य, न्यायमूर्तिहरूको सुझबुझले ओलीको असंवैधानिक कदममा रोक लाग्यो।
तर आफूलाई सत्ताबाट सडकसम्मै पुर्याउने 'संसद भवन' उनको निम्ति प्रिय लाग्ने त कुरै भएन। ओलीकै प्रभाव स्वरुप पुनःस्थापित संसदलाई अवरोध गर्न पार्टीभित्रै बफादार माननीयहरू उर्जा थपेर खटेका छन्। लामाे समयदेखि संसदकाे तल्लाे सदन चल्न सकेकाे छैन। यसकाे मुख्य कारण हाे, प्रमुख प्रतिपक्ष नेकपा (एमाले)।
भनिन्छ- संसद बैठक बस्नै लाग्दा एमाले सांसदहरूले नारावाजी गर्छन्। आफ्ना माग राख्छन्। तर नियालेर हेर्ने हो भने एमाले सांसदहरू नै ओली हर्कतप्रति सन्तुष्ट छैनन्। हलमा सीमित सांसदहरू कराउँछन्, उफ्रिन्छन्, थाक्छन्, थचक्क बस्छन्। अनि निस्केर चिया पिउन हिँड्छन्। हाे–हल्ला गर्ने भेलामा सूर्यधारी सबै सांसद देखिँदैनन्। जाे देखिन्छन्, उनीहरू 'बा' भन्दै दाैडिन्छन्।
ओलीकाे आदेशमा संसद भाँड्न नारा लगाउनेहरू 'बा' गुटका स्थायी सदस्यहरू हुन्। एमालेको गर्व लाग्दाे इतिहासदेखि अहिलेसम्मको ओलीमाले अर्थात् 'बा' पार्टीसम्मै हेर्ने हो भने याे कुरा प्रष्ट छ। ओलीले संसद देख्दैनन्। उनकाे पथमा लम्केका माननीयहरू सदन अवरोध गर्न बानेश्वरमा तैनाथ छन्।
संसद चल्न नसक्ने अवस्था देखेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्दिए- चुनावमा जाउँ! प्रचण्डकाे उक्त बाेलीले ओली समर्थकहरू सामाजिक सञ्जालमा खुब उर्लेका छन्। हुँदाहुँदा भन्न थाले, सदनकाे पूर्ण कार्यकालको संवैधानिक कल्पना खल्बल्याउन पाइन्न।
संसद जाेगाउन सडकदेखि कानूनी लडाइँसम्म उभिएका प्रचण्डले किन यस्ताे बाेले? आफूले वकालत गरेको सिद्धान्तविपरित 'चुनाव' भन्नु ठिक थिएन, तर पनि भने। लगत्तै ओली समर्थकहरू प्रचण्डमाथि खनिनु स्वाभाविक थियो। तर यति बुझ्नैपर्छ प्रचण्डको त्यो अभिव्यक्ति संसद अवरोध गरिरहेका 'बा' निकटहरूकाे तमासाबाट आजित भएर आएको भनाइ थियो।
अब चर्चा गराैँ मूल कुराकाे, जसको साइनो माथिको पङ्क्तिमा उल्लेखित घटनाक्रमदेखि वर्तमान राजनीतिसँग जोडिएकाे छ। हेराेँ, याे वहस भविष्यसँग पनि जोडिन सकिन्छ। निर्वाचनको वहस गर्दैगर्दा कतिपय मानिस भन्छन्– पहिलाे दाैडमा एमाले छ। अनि चुनाव आफ्नाे पक्षमा देखेकाे कांग्रेस। तेस्राेमा चुनाव खासै नचाहेकाे माओवादी केन्द्र। र, चुनावकाे कुरै सुन्न नचाहेकाे एकीकृत समाजवादी।
चुनाव भन्नुको पछाडि फेरि अर्काे राेचक कारण छ– भारतले अतिक्रमण गरेकाे लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली नक्सामा समेटेकाे प्रचार गर्दा ओलीले चुनाव जित्छन् रे! कूटनैतिक रूपमा असफल तर कागजमा बेवकुफ बनाउन माहिर राष्ट्रवादी नेताकाे अर्काे फण्डा माधव–प्रचण्डलाई गाली बर्साउँदा पनि भारीका भारी भाेट खस्छन् रे। अनि एमालेलाई तुरून्त चुनाव चाहियाे।
अर्काे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेर तीन टुक्रा भएकोले कांग्रेसले सहजै जित्छ,र उ जतिसक्दाे चाँडै निवार्चन चाहन्छ। शान्ति प्रक्रिया पश्चात प्रदर्शित सुविधाभोगी प्रवृतिले जनताबाट टाढिएकाे माओवादीलाई चुनाव चाहिएको छैन रे। अन्तिममा पार्टी निर्माणको गति भर्खरै लिएका माधवकुमार नेपाल चुनावै जित्दैनन्, अनि चुनाव चाहिँदै चाहिएको छैन भन्ने बुझाइ देखिन्छ। एकीकृत समाजवादीले गठबन्धनको वकालत गरेकाे प्रष्टै देखिन्छ। कतिपयले यसलाई हारसँग जाेड्छन्। अझै प्रष्ट भन्ने हो भने एकीकृत समाजवादीलाई अलिक विचरा जस्तो गरेर भन्छन्– अहाे अरू त ठिकै छ। तर एकीकृत समाजवादी अहिल्यै कसरी चुनाव लड्छ? एकीकृत समाजवादी कतै चुनावसँगै सकिने पो कि?
याे विल्कुलै हाेइन, हुँदैन र हुनुहुँदैनः आफैंले निर्माण गरेर त्यति ठुलो बनाएको एमाले केपी ओलीको सनक र अहंकारको बन्धक बन्दै गयाे। अलोकतान्त्रिक असंवैधानिक कामहरुको स्रोत बन्दै गएपछि त्यहाँबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टी के साँच्चै कमजाेर छ त ? यसको निर्माण जे जस्तो परिस्थितिमा भयो, त्यसले नै यसको उज्वल भविष्यको आधार तयार गरेको थियो। किनभने यो पार्टी भएको गुमाउन तयार भएर, सुख, सुविधा, पद, प्रतिष्ठा दाउमा राखेर अगाडि बढ्न तयार भएकाहरुले निर्माण गरेका हुन्। तर समय क्रममा जब गुमाएका भनेकाहरुले सत्ता र शक्ति प्राप्त गर्ने भन्ने देखियो तब यसमा केहि लोभीपापी र अवसरवादीहरु थपिए भने हिजो यता आउँछन् कि भनिएका केहि व्यक्तिहरू यता लागेर भन्दा उतै बस्दा दृघकालिन सत्ताको हकदार भइन्छ कि भन्ने निष्कर्षले उतै बसे।
भनाईको मतलब के भने- राजनीतिमा झाँगिदै गएको स्वार्थी र अवसरवादी प्रवृतिको कारण आज नेकपा एकीकृत समाजवादीको भविष्यप्रति अनेकन आशंका गरिएको हो। पद नभई नहुने, शक्ति नभई नहुने चिन्तनले चुनौतिको सामना गरेर नै अवसरहरुको सिर्जना हुने सत्यलाई देख्न सक्दैन। त्यसै हुनाले आज अरु त अरु, स्वयम् नेकपा एकीकृत समाजवादीका कतिपय मानिसहरु आफ्नो भविष्यप्रति विश्वस्त छैनन्। किनभने तिनीहरु पनि हार्न तयार छैनन्, बिनापद जीवनको कल्पना गर्नै सक्दैनन्। यदि पद, प्रतिष्ठा र शक्तिबिना जीवनको कल्पना नै गर्न नसक्नेहरुकै जमात हो, एकीकृत समाजवादी भने त स्वाभाविक रुपमा चुनावसंग डराउनुपर्यो।
आफ्ना मुद्दाहरुमा विश्वास छैन अनि आफ्ना एजेन्डा, व्यक्तित्व र प्रतिबद्धताहरुमै शंका छ भने गठबन्धनबिना जनतामा जाने कल्पना समेत गर्नु बेकार नै होला। तर यदि साँचो अर्थमा राजनीतिमा निष्ठा र इमानको पर्याय बन्न नै खोजेको हो भने चाहिँ एकीकृत समाजवादी पार्टी अरु कोहिभन्दा धेरै हिम्मत र सहासका साथ चुनावको पक्षमा उभिनुपर्छ। यदि भनाई र गराईमा एकरुपता राखिन्छ भन्ने दृढता एकीकृत समाजवादीको नेताहरुमा छ भने चुनावमा उहाँहरु नै जित्नुहुन्छ। किनकि अहिले पनि जनता स्वच्छता, इमान्दारिता र सकारात्मकताको पक्षमा छन्।
तसर्थ एकीकृत समाजवादीले अब गठबन्धन होला कि नहोला भन्ने चिन्तन छोड्नुपर्छ। चुनाव कहिले होला ? छिटो होला वा ढिलो होला ? भन्ने चिन्तन पनि छोड्नुपर्छ। बरु आफ्नो स्पष्ट नीति तर्जुमा गर्ने, जनपक्षीय अनि यथार्थपरक चुनावी घोषणापत्र तयार गर्ने र वेदाग मानिसहरु छानेर टिकट दिने काम गर्नुपर्छ।
अब एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सबैभन्दा दह्रो ढंगले चुनावको पक्षमा आफूलाई उभ्याउनुपर्छ। हिजो पार्टी गठन गर्ने र त्यसमार्फत् सत्ता हासिल गर्नेसम्मको कल्पना गर्नु मुर्खता हाे। समयमै पार्टी स्थापना गरेर त्यसलाई एकबाट दुई, दुईबाट चार गर्दै लाखौँ मानिस बनाउने माधव नेपालले त कमसेकम बुझ्नुपर्छ कि पार्टीका निर्माण मुद्दा र त्यसलाई स्थापित गर्ने दृढताको जगमा हुने हो।
अहिले समस्त नेपाली जनता विकल्पको खोजीमा छन्, अब जनताले खोजेको त्यो विकल्प बन्न तयार हुने वा नहुने त्यसको छनोट गर्न नेकपा एकीकृत समाजवादीले ढिला चाहिँ गर्न हुँदैन। जनताको हित गर्ने मुद्दा बाेकी पार्टी बनाएर, त्यसैको जगमा सत्तामा पुगेर जनतालाई धोखा दिने नेपाली कांग्रेस, हालको कथित एमाले, नेकपा माओवादी नेतृत्वभन्दा इमान्दारिताको दृष्टिले इमान्दार मानिनुभएका माधव नेपालले अब नेकपा एकीकृत समाजवादी पार्टीलाई समग्रमै इमान्दार, देशभक्त, जनवादीहरुको पार्टी बनाउनुपर्छ। त्यसो गर्ने दृढताका साथ अगाडि बढ्दा अहिले तत्काल हुने चुनाव हारी हाले पनि के फरक पर्छ ? जनताले असल पार्टी वा व्यक्तित्व नै छान्ने छन्। हुनसक्छ कि उमेरले सत्तरी हुँदै गर्नुभएको माधव नेपालले अहिले नै पार्टीलाई एक नम्बर बनाउन नसक्नु होला रे। मानौं सबैतर्फ हार नै व्यहोर्नु पर्ला रे, तर के फरक पर्यो ?
यदि नेकपा एकीकृत समाजवादीले देशभरमा इमान्दार, सदाचारी, देशभक्त युवाहरुलाई मैदानमा उतार्न सक्यो भने अहिले हारे पनि आगामी दिनमा विजयी हुने आधार तयार हुनेछ। कोहि कसैको फेरो समातेर केहि ठाउँ जित्ने कि जनपक्षीय नीति तथा कार्यक्रम लिएर एक्लै मैदानमा ओर्लिएर अहिले नै जित्ने ? नभए पनि भोलिको निम्ति बलियो आधार तयार गर्ने, छनोट गर्ने जिम्मा नेकपा एकीकृत समाजवादीको सिंगो पंक्तिलाई छ। त्यसैले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अनुरोध छ कि हार्न तयार भएर पनि एक्लै मैदानमा उत्रनुस्। आखिर तपाईं लोकतन्त्र र संविधान बचाउन सबै गुमाउन तयार भएर नै मैदानमा उत्रनु भएकै हो। सहि र सत्यको पक्षमा रहंदा एकपटक हार्न परेछ भने पनि के नै पो फरक पर्ला त ?
यो कुरा सहि लाग्यो अरुको बैसागि टेकेर राजनितिक कति दिन टिक्ला कमरेड माधब नेपाल , प्रचण्ड,चित्र बहादुर के सी लगायत नेताले यो सुझबुझ बेलैमा बुझ्नु पर्छ गठबन्धनमा गर्ने मेहनत संगठन सुधार र जनतामा गएर सत्यथा उजागर गर्न जरुरी छ ।नत्र पतन बाहेक अरु देखिन्न ।