बिहानै आरआर क्याम्पसको गेटमा भेटिने शिक्षक, साथीभाइ, दाइ, दिदीबहिनीलगायत सबलाई मैले राता मान्छेहरु भनेर चिन्छु।
किन हाेला? मेरो मानसपटलमा आरआर वरिपरि हुने आन्दोलन र त्यसमा प्रयोग हुने राता झण्डा बोकेर हिंडिहाल्ने युवाहरुलाई मैले यसैगरी चिन्छु। अर्थात् राता मान्छेहरु। तर उनीहरुले मलाई आ-आफ्ना नजरमा चिन्दछन्। मेरो साना, चिम्से आँखा देख्दा उनीहरुको नजरमा म राई हुन्छु। त्यसबेला म पूर्वेली हुन्छ। जहाँ मेराे घर खोटाङ, भोजपुर आसपासतिर हुन्छ।
मेरो अनुहारको बनावटले म तामाङ जस्तो देखिन्छु। अनि घर चाहिँ काभ्रे, धादिङ, रामेछाप कतैतिर। मेरो पूर्वेली बोलीको लबजले म पूर्वकै मान्छे हुन्छु। तर जब मेराे नामको पछाडि पुन मगर जोड्छु। म वर्षमान पुनको छिमेकी नै जस्तो सम्झिन्छन्, अनि घर पश्चिम।
तै पनि मलाई शंकाले चाहिँ हेर्न छोडदैनन् राता मान्छेहरु। म उनीहरुको कुन चाहिँ समूहमा पर्न लायक छु भन्ने कुरामा अल्मलिरहन्छन् ती राता मान्छेहरु।
मलाई हरेक आन्दोलन, जुलुस, सभा, संगठन विस्तार जस्ता कार्यक्रममा बोलाइन्छ। तर बिडम्बना म ती सबै निमन्त्रणामा गयल हुन्छु, तर पनि मसंग राता मान्छेहरु हात मिलाउन र मुसुक्क हाँस्न भने छोड्दैनन्।
उनीहरुको लिखित दस्तावेजमा मेरो नाम कतै उल्लेख नभए पनि म उनीहरुको नजरमा किन छु? यो प्रश्न म उनीहरुलाई भन्दा पहिले आफैँलाई सोध्छु।
पहिलो पटक पत्रकारिता विषयमा स्नातक तहको लागि भर्ना गर्न क्याम्पस छिरेको दिन सम्झन्छु। त्यतिबेलाकै कति साथीभाइ, दाइहरु अर्थात् 'राता मान्छेहरु' संग अझै पनि उत्तिकै सम्बन्ध छ।
भर्ना हुन आउने ताकाको दिन सम्झन्छु। गेटमै स्वागतार्थ उभिएका साथीहरु आफ्नै मान्छेजस्तै लागे, आफ्नैको व्यवहार देखाए। क्याम्पसको पुस्तकालय, क्यान्टिन, ट्वइलेट, प्रशासनसम्म सबै एकएक गरेर देखाइदिए पनि।
मैले क्याम्पसमा सिनियरले जुनियरलाई गर्ने 'रेगिङ' को महसुश गर्न परेन। ती राता मान्छेहरुको कालान्तारमा स्वार्थ जे सुकै होस्। तर एउटा नयाँ विद्यार्थीको लागि यो नै त हो क्याम्पसमा चाहिने वातावरण, होइन र?
अहिले काठमाडाैँ कठ्याङ्ग्रिएको छ। कोभिडले ग्रस्त पारेपनि क्याम्पसमा पढाइको रफ्तार चलेकै छ। बिहानै मोबाइलको आलारामले ब्युँझाएपछि कलेजको राता मान्छेहरुको दरिलो ‘ह्यान्ड सेक’, हँसिलो मुस्कान, क्यान्टिनको चियाको सम्झनाले एउटा इनर्जी दिन्छ। जुरुक्क उठेर ब्रस बोकेर बाथरुम छिर्छु, अनि म हतारहतार गर्दै तल जिन्स, माथि एअर पुरुफ ज्याकेट लगाइ चोकसम्म निस्कन्छु।
कलेज पुग्छु। कक्षा कोठा छिर्छु। म सरको लेक्चर सुन्दैहुन्छु, ‘हार्ड न्युज भनेको यस्तो हुन्छ।’ त्यही समयमा बाहिर ग्राउण्डमा पट्याङ्ग, ड्याङ्ग आवाज आउँछ। अनि कोही ठोक ठोक, कोही चिल्याउँदै हुन्छन्। कोही रुँदै, कराउँदै। सरले वास्ता गर्नुहुन्न। केही मिडियामा काम गर्ने साथीहरु मोबाइल, क्यामेरा झिकेर बाहिर निस्कन्छन्। अनि म जुरुक्क उठेर सोध्छु 'सर, हार्ड न्युज भनेको यही हो?’ सब गललल्ल हाँस्छन्। यहि हो राता मान्छेहरुसँगको दैनिकी।
‘क्याम्पस वरिपरि 'कर्फ्यु’ लाग्दा कैयाैँ पटक वाल्मिकी क्याम्पस छिरेको छु। गेटभित्रबाट आउने इँटा, अनि गेट बाहिर प्रहरीको लाठीबाट टाउको जोगाउन। ल-क्याम्सप पनि छिरेको छु। मैले रहरले पालेको कपालको चुल्ठो प्रहरीको नजरमा राता मान्छे देखिँदो हो।
ए ! राता मान्छेहरु, म तिम्रो सदगुणको समर्थन र अवगुणको विरोध सधैं गर्नेछु। अब म तिम्ले निम्त्याएको हरेक कार्यक्रममा आउनेछु। तर मेरो टाउकोमा रातो रुमालको फेटा हुनेछैन, रातो झण्डा हुनेछैन। हुनेछैन मसंग हातमा इँटा। बरु मसंग त हुनेछ एउटा सानो झोला, एउटा कापी, कलम, एउटा सानो क्यामेरा जसले सत्य लेख्नेछ, जसले सत्य देखाउनेछ। त्योबेला मसंग नरिसाउनु है, राता मान्छेहरु।