काेराेनाविरूद्ध खाेप लगाउनेहरूकाे भीड : खोप लिने कि कोभिड ?

पछिल्लाे समय नेपालमा काेराेना भाइरस संकमणकाे दर बढ्दै गइरहेकाे छ। काेराेना नियन्त्रणकाे लागि भन्दै सरकारले पुस २७ गतेबाट कार्यान्वयन हुनेगरी स्मार्ट लकडाउन कार्यविधि लागु गरेकाे छ।

जसमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, सार्वजनिक स्थान (होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायत) मा जाँदा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने उल्लेख छ।

तर सरकारले लागु गरेकाे नियमकाे सही ढंगले कार्यान्वयन भने हुन सकेकाे छैन। कोरोना संक्रमण बढेसँगै विभिन्न खोप केन्द्रहरुमा खोप लगाउनेको संख्या बढेको छ।

कोरोनाको जोखिम उच्च भएका कारण काठमाडौं उपत्यकाका खोप केन्द्रहरुमा पनि खोप लगाउनेको संख्या बढ्न थालेको हाे। ‘जब पर्‍याे राति, तब नि बुढी ताती’ भन्ने उखान पछ्याउने सरकार र सर्वसाधारणको मानसिकता छ।

खोप लगाएकामा भन्दा नलगाएकामा कोरोनाको जोखिम उच्च हुने भएकाले अनिवार्य खोप लगाउन चिकित्सकले सुझाव दिएका छन्। खोप लगाउनेमा सरकारी कर्मचारी, जेष्ठ नागरिक, युवा र वैदेशिक रोजगारीमा जानेहरु बढिरहेका छन्।

कोरोना संक्रमण बढेपछि सरकारले सार्वजनिक स्थलहरुमा प्रतिबन्धात्मक व्यवस्था लागु गरेपछि खोप लगाउनेहरु बढेका हुन्।

कोरोनाको कहर नहुँदा मास्क नलगाइ हिंड्ने, खोप नलगाउने तर संक्रमण बढेपछि खोप थाल्ने सर्वसाधारण र खोप बाँड्ने सरकार दुबै पक्षको कमजोरी देखिन्छ। जसले गर्दा पछिल्लो समय अस्पतालमा झनै भीड हुने गरेको छ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालले सर्वसाधारणलाई काेराेनाविरूद्धकाे खाेप लगाइरहेको छ। बिहान ७ बजेदेखि लाइन बसेर टोकन लिएपनि खोप लगाउने पालो भने २ बजेतिर आउने अवस्था छ।

यसरी अस्पतालमा नै भीडभाड हुँदा कोभिड संक्रमणको जोखिम बढेको छ। संक्रमणको जोखिमकै बीच सर्वसाधारणहरू खाेप लगाउन लामबद्ध छन्।

भौतिक दुरी कायम गर्नुपर्ने ठाउँमा ठेलमठेल गर्दै भीडमा उभिनु पर्ने अवस्था छ। यसरी खोप लगाउन आउँदा उल्टै कोरोना संक्रमण पो सर्ने होकि भन्ने डर सर्वसाधारणमा छ।

सरकारी तथ्यांक अनुसार हालसम्म विभिन्न स्रोतबाट नेपाललाई ४ करोड मात्रा कोरोनाविरुद्धको खोप प्राप्त भइसकेको छ। जसमध्ये करिब २ करोड ५० लाख बढीले खोपको मात्रा प्रयोग गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्त डा. समिर कुमार अधिकारीले बताए।

कोरोना संक्रमणविरुद्धको खोप नलगाउनेमा यसको जोखिम बढी हुने चिकित्सकले बताएका छन्।

खोप नलगाउने व्यक्तिमा तत्काल रोगको संक्रमण हुनसक्ने उनीहरूको दाबी छ। खोप नलगाएको समुदायमा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको बढी खतरा हुने चिकित्सक बताउँछन्।

चिकित्सकका अनुसार अहिलेसम्मको अध्ययनले खोप लगाएको तर, ओमिक्रोनबाट संक्रमित भएका व्यक्तिमा जटिल समस्या अत्यन्त कम देखिएको छ भने खोप नलगाएको व्यक्तिमा यसको जोखिम बढी देखिएको छ।

ओमिक्रोन सबैभन्दा धेरै म्युटेसन भएर देखिएकाले यसको सर्ने तरिका, गम्भीरता र खोपको प्रभाव फरक हुनसक्ने देखिएको चिकित्सकको भनाई छ।

खोप लगाएका भन्दा नलगाएका बिरामी अस्पताल धेरै आउने गरेको तथ्यांकले समेत देखाएको छ। खोपले सके संक्रमण रोक्ने नभए गम्भीर बिरामी हुनबाट रोक्ने भएकाले सबैले कोरोना विरुद्धको खोप लगाउनु पर्ने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाई छ।

यस्तै काेराेना संक्रमणकाे वास्तै नगरी राजनीतिक दलले सभा, सम्मेलन, गोष्ठीमा सयौं जना नेता कार्यकर्ताको भीड उतार्ने गरेका छन्।

यता, कलेजको परीक्षा केन्द्र, बस स्टेशन, चलचित्र हल, हस्पिटल जस्ता ठाउँमा पनि धेरै भीडभाड हुने गरेको छ। यस अवस्थामा सरकारले मात्रै नभएर नागरिक तहबाट नै सतर्कता नअपनाएसम्म संक्रमण रोक्न सकिने अवस्था देखिँदैन।

प्रकाशित मिति: : 2022-01-13 19:50:00

प्रतिकृया दिनुहोस्