महिलालाई बेच्ने, खरिद गर्ने बुल्ली बाई वा सुल्ली डिल्स एक गैरकानुनी काम हो अर्थात् मानहानि, यौन दुव्र्यवहार र महिलाको मर्यादा हनन हो
मेरी आमा एक लेखक र साहित्यिक इतिहासकार हुन्। यही १ जनवरी सन् २०२२ मा उनी मुसलमान महिलालाई लिलाम गर्ने एक जिटहब एप (बुल्ली–बाईमा) तथाकथित रूपमा ‘बेचिएकी’ थिइन्। कुनै पनि छोरीले आफ्नी आमासम्बन्धी यो पंक्ति लेख्नुपर्ला भन्ने सोचेकी हुन्न, तैपनि म लेख्न बाध्य छु । ‘जोकोही पनि यस संसारमा महिलाका रूपमा जन्म लिन्छ, उसलाई अदृश्य हुनुको अर्थ के हो भन्ने थाहा हुन्छ,’ कानुनकी शोधकर्ता लुसिया अस्बर्न–क्रोले आफ्नो सबैभन्दा चर्चित निबन्ध ‘आई चुज एलेना’मा लेखेकी थिइन्। सामाजिक सञ्जालमा महिलाको लिलामी गरिएको जिटहब एपको स्क्रिनसट देख्दा ‘अन्यकरण’ प्रक्रिया अब संवेदनशील विषय रहेन भन्ने लाग्यो। अन्यकरण अब एक दस्ताबेज बन्न पुगेको छ, जहाँ तपाईंलाई घृणाको रसातलबाट एकटकले नियालिँदै छ र म आफ्नी आमाको छवि सम्झिँदै छु। यो घिनलाग्दो पागलपनले आफ्नो सीमा नाघिसकेको छ र केवल दुःख मात्रै बाँकी छ। अन्यकरण एक राक्षसी प्रेत बन्न पुगेको छ। अन्यकरणले गहिरो गरी गढेको यौनिक कुण्ठा एवं द्वेषको साम्राज्य नाघिसकेको छ र तपाईंसामु नांगो आतंकका रूपमा उदाएको छ।
घरेलु कामदार ‘बाई’का लागि मुसलमान महिलाको बेचबिखनका लागि बनेको एपबारे पढ्दा हामी मुसलमान महिलाका वरिपरि मडारिने घृणास्पद आसक्तिका रुढीबद्ध (स्टेरियोटिपिकल) धारणा मेरो मानसपटलमा ठोकिन पुग्यो। अर्थात् हामी कसरी अपमानित एवं श्रापित छौँ, कसरी छुटाइएका छौँ र कसरी हाम्रो प्रतिनिधित्व न्यून गराइएको छ, कसरी वस्तु एवं आश्रित बनाइएका छौँ, कसरी खलपात्र बनेका छौँ, बोक्सी कहलाइएका छौँ र हामी कसरी निर्जन एवं एकांगी बनाइएका छौँ भनेर सोच्न बाध्य बनायो। महिलाको लिलाम बढाबढको समाचारले तपाईंहरूजस्ता आममानिसमा घृणाको ज्वारभाटा उराल्छ भने कल्पना गर्नुहोस्, लिलामको सूचीमा आफ्नी आमालाई देख्दा के भयो होला मलाई ?