ठेकेदारको पासोमा विपन्न : ऋण सकिएन, जीवन सकियो

सर्लाहीका नन्दलाल माझीले ऋण लिएको ५० हजार तीन वर्ष मजदुरी गर्दा पनि चुक्ता भएन, मृत्युपछि चन्दा उठाएर गरियो अन्तिम संस्कार

सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६ कामत गाउँका नन्दलाल माझीले घर खर्च र औषधि उपचारका लागि स्थानीय ठेकेदार इन्द्रजित राउतसँग चार वर्षअघि ५० हजार ऋण लिएका थिए।

त्यही ऋण तिर्न भन्दै ठेकेदारले मजदुरीका लागि उनलाई भारत उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्र पुर्‍याए, बँधुवा मजदुर बनाएर काममा जोताए। तर, तीन वर्ष जोतिँदा पनि ऋण सकिएन, बरु नन्दलालको जीवन सिद्धियो । ठेकेदारले थकान नलाग्ने औषधि खानामा मिसाएर दिने गरेको थियो। जसका कारण उनी चौबिसै घन्टा काम गर्थे। त्यसकै कारण गत ८ कात्तिकमा ३९ वर्षकै उमेरमा नन्दलालको मृत्यु भयो।

नन्दलालको मृत्युपछि तीन सन्तान, श्रीमती, बाबुआमा र बहिनी गरी सातजनाको परिवार बिचल्लीमा परेको छ। श्रीमान्को मृत्युपछि नाबालक सन्तानकी आमा सियान्ती देवी आफैँ सम्हालिन सकेकी छैनन्। एक मात्र छोराको अल्पायुमै मृत्युले आमा अहिलेसम्म अर्धचेत छिन्। परिवार धान्ने जिम्मा ५५ वर्षका बुबा गुनौर माझीको काँधमा आएको छ। आफ्ना पतिलाई ठेकेदारले मजदुरीका लागि बलजफ्ती भारत पुर्‍याएको पत्नी सियान्तीले बताइन् । श्रीमान् गत दसैँमा घर आउन खोज्दा पनि ठेकेदारले नदिएको उनको भनाइ छ। मृत्यु भएको अघिल्लो राति १० बजेतिर उनको श्रीमान्सँग फोनमा कुराकानी भएको थियो।

प्रकाशित मिति: : 2022-01-02 10:37:00

प्रतिकृया दिनुहोस्