प्रतिकूल मौसमका कारण हवाई उडान रद्द हुँदा लाखाैं यात्रु प्रभावित

काेराेना महामारीसँगै प्रतिकूल मौसमका कारण कैयौं उडान रद्द हुँदा क्रिसमस र नयाँ वर्षको छुट्टी निकै नै प्रभावित बनेको छ।

काेराेनाभाइरस महामारी र प्रतिकूल मौसम विकास हुँदा शनिबार विश्वभरका करिब ४ हजार ४ सय उडान रद्द भएका छन्। तीमध्ये २ हजार ५ सयभन्दा बढी अमेरिकी उडान रहेकाे एयर ट्राफिक साइट फ्लाइटअवेयरले जनाएकाे छ।

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढेपछि चालक दलका सदस्यहरू क्वारेन्टाइनमा छन्। उनीहरू अनेकाैँ समस्यासँग संघर्षरत रहेकाे बीबीसीकाे दाबी छ।

महामारीसँगै मध्य अमेरिकामा परेको हिमपातले यात्रुहरू थप समस्या झेल्न बाध्य छन्। टिकट लिएका यात्रुहरू ओमिक्रोन त्रास र माैसमका कारण उडान रद्द भएपछि हवाइ मारमा परेका छन्।

पछिल्लाे समय विमान कम्पनीले कर्मचारीहरूकाे भारी अभाव भाेगिरहेकाे छ। राम्राे तलब दिँदादिँदै पनि कामदारहरू काम गर्नै मान्दैनन्। अमेरिकामा ओमिक्रोनको संक्रमण बढदै गएको छ।

कामदार अभाव भएपछि राम्राे तलब दिएर आकर्षित गर्ने प्रयास कम्पनीहरूले नगरेका हाेइनन्। तर कामदारहरू काेराेनाभाइरसका बेला सम्झौता गर्न वा आक्रोसित यात्रुसँग बाेल्नै डराउँछन्।

'रद्द भएका विमानहरू ओमिक्रोन र मौसम सम्बन्धी समस्याहरूले प्रभावित भएका हुन्। हामीले प्रतिकूल मौसम हुँदा उडानहरू पूर्वरद्द गरेका थियौं। यदि तिनिहरूको उडान रद्द भएमा हामीले यात्रुहरूलाई पुनः टिकट काट्न र अन्य योजनहरू बनाउने समय दिएर चाँडै सम्पर्क गरिरहेका छौं, ' युनाइटेड एयरलाइन्सले एक विज्ञप्तिमार्फत् भनेकाे छ।

आइतवार धेरै मानिसहरू समस बिदाबाट घर फर्किर्ने छन्। महामारी संकटसँगै हिउँ र भारी हावाले थप अवरोध ल्याउने पूर्वानुमान गरिएकाे छ।

गत २४ डिसेम्बर–यता अमेरिकामा १२ हजारभन्दा बढी उडानहरू रद्द भएका छन्।

शिकागोको ओहारे र मिडवे एयरपोर्टहमा १ हजारभन्दा बढि उडान रद्द भएको रिपोर्टकाे दाबी छ। अमेरिकाले ओमिक्रोन भेरियन्टका बिरामीहरू थपिएसँगै थप सामना झेलिरहेकाे छ।

प्रकाशित मिति: : 2022-01-02 08:27:00

प्रतिकृया दिनुहोस्