अध्यक्ष पदका ‘निर्विकल्प’ प्रचण्डले कसलाई छान्लान् महासचिव ?

लोकान्तर

काठमाडौँ

आफू अध्यक्ष चयन हुन जति सहज छ, प्रचण्डलाई पार्टी महासचिव छान्न त्यति असहज रहेको माओवादी केन्द्रका नेताहरु बताउँछन् । माओवादीको राजधानीमा जारी आठौं महाधिवेशनले नेतृत्वसहित पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्नुपर्नेछ ।

अध्यक्षमा प्रचण्डलाई टक्कर दिने नेता कोही पनि नदेखिएकाले उनी ‘निर्विकल्प’ जस्तै छन् । तर महासचिवमा भने उनकै विश्वासपात्र नेताहरुसहितका आकांक्षी रहेकाले व्यवस्थापन गर्न सकस पर्ने निश्चित रहेको छ ।  महासचिवको दौडमा हालसम्म जनार्दन शर्मा, वर्षमान पुन सबैभन्दा अगाडि छन् । जवकी दुबै नेता प्रचण्डका विश्वासपात्र हुन् र दुबैलाई उनी चिढ्याउन चाहँदैनन् ।

यस्तै पम्फा भुसाल, कृष्ण बहादुर महरालगायतका नेताहरु पनि महासचिवको आकांक्षी रहेका छन् ।महासचिवलाई भावी अध्यक्षका रुपमा समेत हेरिने गरिएकाले पनि नेतृत्व निर्माणको चरणमा प्रचण्डले कसलाई छान्छन् भन्नेमा चासो बढेको हो । प्रचण्डले ३० वर्षभन्दा बढी समय नेतृत्व हाक्दा पनि नेतृत्व हस्तान्तरणका लागि ग्राउण्ड बनाउन नसकेको भन्ने आलोचनासमेत यदाकता सुनिँदै गर्दा तथा स्वयम् प्रचण्डले समेत आफू नेतृत्व हस्तान्तरण गर्न आतुर भएपनि भरोसायोग्य पात्र नभेटेको बताउँदै आएका छन् ।

प्रकाशित मिति: : 2021-12-29 10:31:00

प्रतिकृया दिनुहोस्